पौडेल समूहको किचलोले देउवाको मुहारमा ‘मुस्कान’-Sutra News

पौडेल समूहको किचलोले देउवाको मुहारमा ‘मुस्कान’

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८
फाइल फोटो

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेसन बिल्डिङ’ पुस्तक विमोचनका क्रममा बिहीवार सार्वजनिक उपस्थिति देखाएका सभापति शेरबहादुर देउवाको अनुहारमा एककिसिमको चमक र हाँसो देखिन्थ्यो ।



१४ औं महाधिवेशनमा सभापति चुनिएर अर्को एक कार्यकाल कांग्रेसको नेतृत्व गर्ने आकांक्षा राखेका देउवाको अनुहारमा मुस्कान आउनुको एउटै कारण छ – त्यो हो आफूइतर गठबन्धनबाट अहिलेसम्म सभापतिका लागि साझा उम्मेदवार छनोट हुन नसक्नु ।

१३ औं महाधिवेशनमा देउवाविरुद्ध गठबन्धन बनाएर चुनावमा होमिएका रामचन्द्र पौडेलको समूहले महाधिवेशनको अघिल्लो दिनसम्म पनि साझा उम्मेदवार दिन सकेको छैन । देउवालाई जसरी पनि नेतृत्वबाट विस्थापित गर्ने रणनीतिका साथ अघि बढेको पौडेल समूहमा पनि सभापतिका आकांक्षी धेरै भएकाले देउवा खुसी छन् ।

देउवाले कार्यक्रममा सहमतिमै नेतृत्व छानिने र सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व आउने भएकाले नेता कार्यकर्तालाई मनमुटाव नगर्न सुझाव दिए । सभापतिमा ढुक्कले जित्ने संकेत पाएका देउवा बिहीवारको सार्वजनिक कार्यक्रममा हसिलो देखिएका छन् ।

बुधवार र बिहीवार यो समाचार टिप्पणी लेख्दासम्म पौडेल समूहको भाग-दौड लोभलाग्दो छ । वरिष्ठ नेता पौडेलले आजित भएर बुधवार भनेका थिए, ‘यदि सभापतिको उम्मेदवारमा सहमति हुँदैन भने म कांग्रेस छोड्छु । घर गएर बस्छु र महाधिवेशनमा पनि आउँदिन ।’

डा. शेखर कोइराला र प्रकाशमान सिंहबीच सहमति नबन्दा पौडेल विरक्तिएका हुन् । सहमति भए आफू सभापतिको रेसबाट आउट हुने र नभए एक कार्यकाल आफू सभापति बन्नुपर्ने अडानमा छन् पौडेल ।

यता आफूइतर समूहमा सहमति हुन नसक्दा देउवाले निर्वाचनको पहिलो चरणमै आफूले सभापतिमा बाजी मार्ने आंकलन गरेर बसेका छन् । देउवानिकट नै मानिएका विमलेन्द्र निधिले समेत सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । निधिलाई पौडेल पक्षले पनि भोट नदिने र देउवा पक्षले देउवालाईं नै भोट दिने भएकाले सभापति बन्न गाह्रो देखिएको छ ।

बुधवार आफूनिकट नेता कार्यकर्तालाई बालुवाटारमा बोलाएर सभापति देउवाले स्थितिको जायजा लिएका थिए । यद्यपि महाधिवेशन शुरू हुन एक दिन बाँकी रहँदासम्म देउवाले औपचारिक रूपमा आफ्नो प्यानल घोषणा गर्न सकेका छैनन् ।

देउवा समूहमा सभापति कन्फर्म भएको छ भने अन्य पदाधिकारीको अहिलेसम्म टुंगो लागेको छैन । पौडेल समूहमा अन्य पदाधिकारीको लगभग टुंगो लागेपनि सभापतिमै सकस देखिन्छ । पौडेल समूहमा हुन नसकेको सहमतिले देउवाको अनुहारमा चमक ल्याइदिएको हो ।

बिहीवार नै स्वर्गीय कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले आफू कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने अडान दोहोर्याएका छन् । यता शेखर कोइरालाले पनि भित्रभित्र आफ्नो तयारी कायमै राखेका छन् ।

संस्थापनइतर पक्षक एकजुट नभएर चुनावमा जाने स्थिति आयो भने देउवाले सहजै सभापतिमा बाजी मार्ने पछिल्लो अंकगणितले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट