ओली, प्रचण्ड र नेपालले एउटै मञ्चबाट भाषण गर्ने-Sutra News

ओली, प्रचण्ड र नेपालले एउटै मञ्चबाट भाषण गर्ने

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन उद्घाटनका दिन एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भाषण गर्ने भएका छन् ।



कांग्रेसले आफ्नो महाधिवेशनमा यी तीन दलका साथै अन्य दलका नेताहरूलाई पनि आमन्त्रण गरेको छ ।

गत फागुन २३ गतेसम्म एउटै दल नेकपामा रहेका यी तीन नेताबीच कटुतापूर्ण सम्बन्ध छ । प्रचण्ड र नेपालले नेकपा विभाजनको आरोप ओलीमाथि थोपर्ने गरेका छन् भने ओलीले प्रचण्ड र नेपाललाई विभिन्न लान्छना लगाउँदै आएका छन् ।

कटुतापूर्ण सम्बन्ध भएका यी नेताहरू सबैलाई एउटै मञ्चबाट भाषण गर्ने संयोग जुरेको छ । गत सालको पुस ५ गते प्रतिनिधि सभाको पहिलो विघटन शुरू भएपछि ओली र प्रचण्डबीच कटुता बढेको थियो ।

एमाले विभाजन गरेर छुट्टै दल बनाएका नेपाल पनि ओलीसँग दुश्मनीपूर्ण सम्बन्धमा देखिन्छन् ।

ओलीले चितवनमा हालसालै सम्पन्न आफ्नो पार्टीको दशौँ महाधिवेशनमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई निमन्त्रणा नै गरेका थिएनन् भने निम्तो पाएका प्रचण्ड महाधिवेशनस्थलमा पुगेका थिएनन् ।

यी तीनै कम्युनिस्ट नेताहरूलाई एउटै मञ्चबाट भाषण गर्ने भने कांग्रेसले मिलाइदिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट