विपिन रावत: हेलिकप्टर दुर्घटनाबारे भारतको संसद्‌मा रक्षामन्त्री राजनाथ सिंहले के भने-Sutra News

विपिन रावत: हेलिकप्टर दुर्घटनाबारे भारतको संसद्‌मा रक्षामन्त्री राजनाथ सिंहले के भने

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतका प्रथम चीफ अफ डीफेन्स स्टाफ विपिन रावतको असामयिक निधनबारे लोकसभामा जानकारी दिएका छन्।



भारतीय संसद्‌को तल्लो सदनमा उनले भने, “म बडो दुख र भारी मनबाट भारतका प्रथम चीफ अफ डीफेन्स स्टाफ जनरल विपिन रावत उनकी धर्मपत्नी मधुलिका रावत र हेलिकप्टरमा सवार अन्य १२ को सन् २०२१ डिसेम्बर ८ दिन भएको दुर्घटनाको समाचार अवगत गराउन तपाईँहरू सामु खडा भएको छु।”

“जनरल विपिन रावत डीफेन्स सर्भिसेज स्टाफ कलेज वेलिङ्टनका विद्यार्थीसँग अन्तरक्रिया गर्नका लागि त्यता जानुभएको थियो। एअरफोर्सको एमआई१७ भी५ हेलिकप्टरको १२ बजेर ८ मिनेटमा एअर ट्राफिक कन्ट्रोलरसँग सम्पर्कविच्छेद भयो।”

उनले भने, “पछि कुन्नूर नजिकैको जङ्गलमा केही स्थानीय बासिन्दाले आगो लागेको देखे। त्यहाँ उनीहरू दौडेर हेर्न पुग्दा सैनिक हेलिकप्टरको अवशेष आगोको लप्काले घेरिएको थियो। स्थानीय प्रशासनले एक समूहलाई त्यता पठायो।”

“उक्त समूहले दुर्घटनामा बचेका मानिसलाई उद्धार गर्ने प्रयत्न गर्‍यो। त्यहाँबाट उनीहरूलाई वेलिङ्टनको सैन्य अस्पताल पुर्‍याइयो।”

प्राप्त जानकारी अनुसार उक्त हेलिकोप्टरमा सवार १४ मध्ये १३ को मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये रावतका रक्षा सल्लाहकार ब्रिगेडियर लखविन्दर सिंह, लिडर स्टाफ अफिसर लेफ्टिनेन्ट कर्नेल हरजिन्दर सिंह र वायुसेना हेलिकप्टरका चालकदल समेत सशस्त्र बलका अरू नौ जना थिए।

सिंहले दुर्घटनामा ज्यान गुमाएका सबैको नाम पढेर सुनाएका थिए। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट