दाङमा नियम विपरित सवारी चलाउने १४ हजार चालकलाई कारबाही-Sutra News

दाङमा नियम विपरित सवारी चलाउने १४ हजार चालकलाई कारबाही

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

दाङमा ट्राफिक नियम विपरित सवारी चलाउने १४ हजार बढी चालक कारबाहीमा परेका छन् ।



जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ट्राफिक नियम विपरित सवारी चलाउने १४ हजार बढी चालक कारबाहीमा परेका हुन् ।

सिट क्षमताभन्दा बढी सवारी राख्ने, सिट बेल्ट नबाधि सवारी चलाउने, सवारी चलाउँदा फोनको प्रयोग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने , तिब्र गतिमा सवारी हाँक्ने , सावरी चालक अनुमतिपत्र बिना सवारी चलाउने र साथमा सवारी साधनको कागजपत्र नबोक्ने सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रमुख थम्मन जिसीले जानकारी दिए ।

चार महिनामा मापदण्ड विपरित सवारी चलाउनेबाट ९२ लाख बढी राजश्व संकलन भएको छ । चालु वर्षको साउनदेखि कार्तिक मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ७ सय सवारी चालकबाट ९२ लाख ६४ हजार राजश्व संकलन भएको छ । जिल्लामा चालु वर्षको कार्तिक महिनामा सबैभन्दा बढी सवारी चालक कारबाही परेका छन् ।

कार्तिक महिनामामात्रै ४ हजार २ सय सवारी चालक कारबाहीमा पर्दा २५ लाख ९८ हजार ५ सय राजश्व संकलन भएको छ । साउन महिनामा ३ हजार १५० सवारी चालकबाट २० लाख २७ हजार, भदौ महिनामा ४ हजार ५० सवारी चालकबाट २५ लाख ६८ हजार र असोज महिनामा ३ हजार ३ सय चालकबाट २० लाख ७० हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख जीसीले जानकारी दिए ।

चार महिनाको अवधिमा सबैभन्दा बढी मोटरसाइकल चालक कारबाहीमा परेका छन् । जिल्लामा चार महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५ हजार ४७३ सवारी चालकबाट ३६ लाख ५७ हजार राजश्व संकलन भएको छ । त्यस्तै ३ हजार ३१२ सवारी चालककबाट २१ लाख १३ हजार , १ हजार ७ सय ४० जिप, कार चालकबाट १० लाख ३३ हजार, १ हजार ५ सय २४ बस चालकबाट ८ लाख ६९ हजार ५ सय राजश्व संकलन भएको छ ।

त्यस्तै १ हजार ३९२ टेम्पोबाट ८ लाख ११ हजार र १ हजार २ सय ५९ टेक्टरबाट ७ लाख ८० हजार ५ सय राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । गतवर्ष यसै अवधिमा अर्थात् साउनदेखि कार्तिक मसान्तसम्म १६ हजार सवारी चालक कारबाहीमा गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट