डीआर उपाध्यायले राखे थप २१ विश्व कीर्तिमान रेकर्ड, ८० शिर्षकमा विश्व कीर्तिमान राख्न सफल-Sutra News

डीआर उपाध्यायले राखे थप २१ विश्व कीर्तिमान रेकर्ड, ८० शिर्षकमा विश्व कीर्तिमान राख्न सफल

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

डा.डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमानसहित ८० विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा एक विशेष सामारोहबीच उनलाई थप २१ विश्व कीर्तिमान प्रदान गरिएको हो ।



२१ विश्व कीर्तिमान हस्तान्तरण समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अतिथिहरू गीतकार संघका निर्वतमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठलगायतले उपाध्यायलाई विश्व रकेर्ड हस्तान्तरण गरेका थिए । यसअघि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गरेका थिए ।

सञ्चारकर्मी नरेश भट्टराईले सहजीकरण गरेको कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्दै ‘यसरी एकैदिन फरक २१ विधामा दशवटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहिलो व्यक्ति हुनुहुन्छ । यो व्यक्ति नभएर समग्र नेपालकै लागि गौरवको कुरा हो’, भने ।

समारोहका प्रमुख अतिथि महानिरीक्षक खनालले नेपालीका लागि उपाध्यायको कार्य उदाहरणीय रहेको भन्दै यसको हामीले मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने जिकिर गरे । डा. उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, एसियन वल्र्ड रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, वल्र्ड ट्यालेन्ट बुक, एभरेष्ट वल्र्ड रेकर्ड, युरोपीयन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, द ब्रिटिश वल्र्ड रेकर्ड जस्ता दश संस्थाबाट २१र२१ विधामा एकसाथ रेकर्ड बनाएका हुन् ।

उनले वल्र्ड रेकर्ड प्राप्त गरेका २१ वटा फरक विधामा संगीतका विभिन्न ताल (क्लासिकल बिट)सम्बन्धी गीत, ट्राफिक चिहृन समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता, जनावरहरूको नाम समेटिएको गीति कविता, प्रत्येक एक बारमा आधा आधा कड समेटिएको गीत, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नारीहरूको नाम समेटिएको गीति कविता, विश्व सम्पदाहरूको नाम समेटिएको गीति कविता, विश्व प्रख्यात केकहरूको नाम समावेश गरिएको गीति कविता, विश्वका पुराना मन्दिरहरूको नाम समावेश गरिएको गीति कविता, प्लेकार्ड साइजमा सयभन्दा बढी आफ्ना गीत प्रिन्टलगायत छन् ।

कार्यक्रममा नेपाली गीतसंगीतमा लागेकालाई डा.उपाध्यायले गरेका कार्यले गर्व महसुस भएको गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटाले बताए । उनले भने, ‘उपाध्यायले नेपाली गीतसंगीत जगतलाई विश्वमै पुर्‍याएर महत्वपूर्ण योगदान दिनुभएको छ । यो निकै सराहनीय कार्य हो र हामी सबैले गर्वको कुरा हो ।’ हामी नेपाली पहिला खुकुरीका कारण विश्वमा चिनिए पनि अब कलमको माध्यमबाट पनि विश्वमा चिनिन लागेको उनले बताए ।

यस्तै अनेसासका निर्वतमान अध्यक्ष राधेश्याम लेकालीले कीर्तिमानी गीतकार उपाध्यायले व्यक्तिभन्दा पनि नेपाली गीतसंगीतलाई विश्व बजारमा पुर्‍याउँदै गिनिज, अमेरिकन वल्र्ड बुकसहित सबै वल्र्ड रेकर्डमा नेपालको नाम लेखाउन सफल भएकोमा बधाई तथा शुभकामना दिए । उनले भने, ‘यी रेकर्ड डीआरलाई मात्रै नभएर देशको लागि गौरवको कुरा हो ।’

यस्तै माधव खनाल, हेमप्रभावस अधिकारीलगायत अतिथिले डा।उपाध्यायले नेपाली सांगीतिक क्षेत्रलाई विश्वमै चिनाउने लक्ष्यका साथ काम गरेको बताउँदै बधाई तथा शुभकामना दिए ।

डा.उपाध्यायले आफूले हरेक कार्यलाई पृथक तरिकाले कार्य गर्नेगरेको र यसले विश्व रेकर्ड कायम गर्दै गएको बताए । आफ्ना लागि तथा देशका लागि आफूले यो सबै गरिरहेको बताउँदै उनले चाडै एक सय रेकर्ड पु¥याउने लक्ष्य लिएर आफू अगाडि बढिरहेको बताए ।

कार्यक्रममा महानिरीक्षक खनाललाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा संगीतकार सन्तोष श्रेष्ठ, सागर अधिकारी, सञ्चारकर्मी नरेश भट्टराई, कृष्ण भुसाल, गीता अधिकारी, राजेन्द्र लुइँटेल, कोरियोग्राफर तथा निर्देशक माइकल चन्दलाई अमेरिका बुकअफ रकेर्डबाट प्रदान गरिएको सर्टिफिकेट अफ एप्रिसिएसन प्रदान गरिएको थियो ।

सो अवसरमा साहित्यकार विनोद दाहाल, डीआर राई, राजबाबु श्रेष्ठ सागरलगायत साहित्यिक व्यक्तित्व र अन्य विशिषट व्यक्तित्वहरूको उपस्थिति थियो । डा. उपाध्याका २५ एल्वम, १२ उपन्यासका साथै तीन गीति पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट