एनएमबि बैंकले पायाे एसियाकै ‘उत्कृष्ट बैंकको’ उपाधि, ‘बैंक अफ दि इयर २०२१’अवार्ड पनि प्राप्त-Sutra News

एनएमबि बैंकले पायाे एसियाकै ‘उत्कृष्ट बैंकको’ उपाधि, ‘बैंक अफ दि इयर २०२१’अवार्ड पनि प्राप्त

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

नेपालको अग्रणी बैंकहरुमध्येको एक एनएमबि बैंकले नेपाली बैंकिङ इतिहासमै पहिलोपटक ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड हात पारेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता एसियाली मुलुकका बैंकहरुलाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएर अवार्ड हात पारेको हो ।



बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो । एनएमबि बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो । यो सँगसँगै एनएमबि बैंकले ‘दि बैंक अफ दि इयर २०२१’ अवार्ड पनि जितेको छ । एनएमबिको यो ५ वर्षमा चौथो अवार्ड हो ।

बैंकका अध्यक्षले सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सो उपाधि प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट ग्रहण गरेका छन् । उपाधिका लागि बैंकलाई बधाइ दिँदै प्रधानमन्त्री देउवाले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए ।

सन् २००२ मा स्थापित ‘बैंक अफ दि इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्यपूर्वी युरोप, एसिया अमेरिका, मध्यपूर्व र अफ्रिका गरी ६ वटा महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ। यो पुरस्कारलाई विश्वभरका बैंकहरुको मूल्यांकन गर्ने र विश्वकै अग्रणी संस्थाका रुपमा मान्यता प्रदान गर्ने मानक रुपमा लिइन्छ।

परम्परागत बैंकिङभन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाल बैंकिङ उद्योगमै पहिलोपटक स्थानीय ऋणपत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारका लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कलमार्फत केवाईसी अपडेट गर्ने सुविधा ल्याउने र एनएमबि सापटीमार्फत २४ घन्टाभित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्नेजस्ता नवीनतम सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यसका साथै बैंक पाटर्नरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्सको समिति सदस्य र ग्लाबेल एलायन्स फर बैंकिङ अन भ्याल्युजको सदस्य बैंक पनि हो ।

बैंकको देशभरभरि २०१ शाखाहरु छन् । जसले डिजिटल सेवा प्रवाह गर्ने क्षमता राख्दछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट