अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने ८ लाखभन्दा बढी, संक्रमित हुनेको संख्या ५ करोड-Sutra News

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने ८ लाखभन्दा बढी, संक्रमित हुनेको संख्या ५ करोड

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

अमेरिकामा कोरोना (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ८ लाखभन्दा बढी भएको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ ।



आइतबारसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको रोयटर्सले जनाएको छ । समाचारअनुसार हालसम्म पाँच करोडभन्दा बढी मानिसमा कोरोना पुष्टि भइसकेको छ ।

पछिल्लोपटक नोभेम्बरको अन्त्यमा मनाइने ‘धन्यवाद आदान–प्रदान’ (थ्याङ्क्सगिभिङ) पर्वयता कोरोना संक्रमितको संख्या २० प्रतिशतले बढेको समाचारमा उल्लेख छ । त्यस्तै, पछिल्लो महिना कोभिड संक्रमणबाट हुने मृत्यु ४.६ प्रतिशतले बढेको छ भने अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढेको छ ।

अमेरिकामा डेल्टा भेरियन्ट नै संक्रमणको प्रमुख कारण बनिरहेको अधिकारीहरूले बताएका छन् । तर नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम जारी छ । हालसम्म नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित दुई दर्जन बढी राज्यमा फेला परेका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रकी निर्देशक डा. रोचेल वालेस्कीका अनुसार ९९ प्रतिशत संक्रमित डेल्टाका छन् ।

वल्र्डमिटरका अनुसार कोभिड संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा धेरै छ । पछिल्लो विवरण अनुसार त्यहाँ हालसम्म पाँच करोड ८० लाख १ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ भने आठ लाख १७ हजार ९५६ जना संक्रमितको मृत्यु भएको छ ।

संक्रमित धेरै रहेको मुलुकमा भारत दोस्रो स्थानमा छ । त्यहाँ हालसम्म ३ करोड ४६ लाख ९७ हजार ८६० जनामा भाइरस पुष्टि भइसकेको छ भने चार लाख ७५ हजार ६३६ जनाको मृत्यु भएको छ । तर मृतकको संख्या हेर्दा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा हालसम्म ६ लाख १६ हजार ९४१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट