शंकर पोखरेलको आरोपः कम्युनिष्ट आन्दोलन कमजोर पार्ने मिसनमा प्रचण्ड र नेपाल-Sutra News

शंकर पोखरेलको आरोपः कम्युनिष्ट आन्दोलन कमजोर पार्ने मिसनमा प्रचण्ड र नेपाल

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलन कमजोर पार्ने मिसनमा लागेको आरोप लगाएका छन् ।



सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पोखरेलले नेताद्वय प्रचण्ड र नेपाल पुँजिवादतर्फको यात्रामा लागेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको आरोप लगाएका हुन् ।

पोखरेलले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व सुम्पने र कांग्रेसलाई नै नेता मानेर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने प्रचण्ड र नेपाल दक्षिणपन्थी अवसरवादको सिकार भएको दावी गरे । उनले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रूपमा रहेको बताए ।

‘प्रचण्ड र माधव नेपालहरू कांग्रेसलाई नेता बनाएर, कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लाग्नुभाछ भनेपछि दक्षिणपन्थी अवसरवाद भनेको यही हो,’ उनले भने, ‘यसमाथि विजय हासिल गर्ने कुरा यति बेलाको राजनीतिको एउटा मख्सद हो भन्ने कुरालाई बुझ्नु जरुरी छ ।’

पोखरेलले एमालेलाई तिनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रूपमा स्थापित गर्नु जरुरी रहेको बताए । एमालेलाई भविष्यमा पनि गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको भन्दै उनले सो षड्यन्त्रलाई चिर्नका लागि जनताको बलियो समर्थनको आवश्यकता रहेकोमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट