नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापतिमा शेरबहादुर देउवाले हारे आगामी निर्वाचनमासमेत असर पर्ने तर्क गरेका छन् । आइतबार १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको एक कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले सभापतिमा देउवालाई नजिताए आगामी निर्वानमा ठूलो असर पर्ने तर्क गरेका हुन् ।
उनले देउवाकै नेतृत्वमा आगामी निर्वाचनमा जानुपर्ने र सभापतिमा हारेको प्रधानमन्त्री निर्वाचनमा जाँदा मनोवैज्ञानिक रुपमा असर पर्ने भएकाले पार्टीको मनोबललाई उच्च बनाउनका लागि देउवालाई जिताउनैपर्ने बाध्यात्मक अवस्था रहेको बताए।
एक व्यक्ति दुई कार्यकाल पार्टी सभापति हुनसक्ने व्यवस्था विधानमै भएको भन्दै उनले देउवालाई जिताउनै पर्ने बताए ।
सिटौलाले देउवा नेतृत्वको सम्पूर्ण प्यानललाई नै मत दिएर विजयी बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह पनि गरे । देउवालाई सभापतिमा जिताएर उत्साहित प्रधानमन्त्री लिएर निर्वाचनमा जानुपर्नेमा उनको जोड छ ।