नेपाली कांग्रेस महाधिवेशन: पहिलो चरणमै सभापति छानिने सम्भावना कति ?-Sutra News

नेपाली कांग्रेस महाधिवेशन: पहिलो चरणमै सभापति छानिने सम्भावना कति ?

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

नेपाली कांग्रेसको काठमाण्डूमा जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व छान्न सोमवार भइरहेको मतदानबाट पहिलो चरणमै सभापति चयन हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन।



कांग्रेसको शीर्ष नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो चरणबाटै सभापति छानिन नसके दोस्रो चरणमा हुने मतदानमा शीर्ष दुई स्थानमा हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा बाँकी तीन नेतालाई समर्थन गर्ने मतदाताहरू निर्णायक हुने बुझाइ धेरैको छ।

यद्यपि ती मतदाताको रोजाइमा को पर्छ भन्नेमा कांग्रेस नेता र जानकारहरूबीच भिन्नभिन्न धारणा छ।

किन दोस्रो चरणको मतदान?

कांग्रेसको विधानअनुसार पहिलो चरणबाटै सभापतिको परिणाम आउन सभापतिका उम्मेदवारमध्ये कुनै एक जनाले ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ।

तर धेरै उम्मेदवारबीच मत बाँडिदा पहिलो चरणबाटै सभापति छानिने सम्भावना कम रहेको कांग्रेसको आन्तरिक राजनीतिबारे जानकार केही नेता र विश्लेषकले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

पहिलो चरणमा कुनै एक उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसके सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने व्यवस्था कांग्रेसको विधानमा छ।

महाधिवेशन प्रतिनिधिहरू काठमाण्डूबाट फर्कनुअघि नै सभापति चयनको टुङ्गो लगाइसक्न महाधिवेशनका लागि गठित निर्वाचन समितिले सोमवार मतदान सकिनासाथ सभापति पदको मतगणना सुरु गरिहाल्ने तयारी गरेको छ।

निर्वाचन समितिका अनुसार दोस्रो चरणको मतदान आवश्यक परे मङ्गलवार सम्पन्न गर्ने तयारी गरिएको छ।

सभापति पदबाहेकका उम्मेदवारले भने ५० प्रतिशत बढी ल्याउनुपर्ने बाध्यता छैन।

बाँकी १३३ पदमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।

अहिलेको परिस्थिति के छ?

अघिल्लो महाधिवेशनमा दोस्रो चरणमा मात्रै देउवालाई साथ दिएका सिटौलाले यो महाधिवेशनमा देउवाले उम्मेदवारी घोषणा गर्दादेखि नै उनीसँगै उभिएका छन्।

तर अघिल्लो महाधिवेशनमा सिटौलाको पक्षमा रहेको समूह अहिले फरकफरक प्यानलमा बाँडिएको छ। अघिल्लो महाधिवेशनमा उनको समूहबाट महामन्त्री पदका उम्मेदवार गगन थापा अहिले शेखर कोइरालाको समूहबाट सोही पदका लागि उम्मेदवार छन्।

देउवाले पनि पाँच वर्ष नौ महिनापछि हुन लागेको चौधौँ महाधिवेशनमा अघिल्लो महाधिवेशनमा उनलाई सहयोग गरेका केही नेताको साथ गुमाएका छन्।

सिटौलाको समूहजस्तै देउवा समूह पनि फरकफरक प्यानलमा विभक्त भएको छ। पार्टी विभाजनमा समेत देउवालाई साथ दिएका विमलेन्द्र निधि अहिले देउवाका प्रतिस्पर्धी बनेका छन्।

अघिल्लो महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीका उम्मेदवार बनेका अर्जुन नरसिंह केसी अहिले अहिले शेखर कोइरालाको समूहमा खुलेका छन्। देउवा नेतृत्वको समूहबाट हालै मात्र अलग भएका नेता विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीका उम्मेदवार बनेका छन्।

अर्कोतर्फ अघिल्लो पटक रामचन्द्र पौडेललाई समर्थन गरेको समूह पनि यो पटक धेरै समूहमा बाँडिएको छ। अघिल्लो पटक पौडेललाई साथ दिएका अर्का नेता प्रकाशमान सिंह यो समूहबाट अलग भएर पदाधिकारीमा केही उम्मेदवारसहित आफैँ सभापतिको प्रतिस्पर्धामा छन्।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट