देउवालाई प्रकाशमानको समर्थन, अब निधि के गर्लान ?-Sutra News

देउवालाई प्रकाशमानको समर्थन, अब निधि के गर्लान ?

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।



मंगलबार बिहान चाक्सीबारीमा भएको देउवा सिंह भेटवार्तामा यस्तो सहमति भएको हो । दुवै नेताबीच लिखित सहमति भएको छ ।

देउवासँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।’

उनले अगाडि भने, ‘नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं । देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे । देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ ।’

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । त्यसअघि नै देउवालाई सिंहले समर्थन गर्ने निर्णय गरेका हुन् ।

सिंहले देउवालाइृ समर्थन गर्ने सार्वजनि अभिव्यक्ति दिएपछि सभापतिका अर्का उम्मेदवार रहेका बिमलेन्द्र निधि के गर्छन् भन्ने प्रश्न उब्जिएको छ । निधिले कसलाई समर्थन गर्ने भन्ने कुरा सिंहसँग छलफल गरेरमात्रै जानकारी दिने बताइरहँदा सिंहले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट