नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला परिवारकै सदस्य एवं सभापतिका उम्मेदवार शेखर कोइरालासँग टाढिएका छन् । शशांकले पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भएको छलफलपछि शशांकले देउवालाई समर्थन गर्ने भएका हुन् ।
यसअघि शशांकले कुनै उम्मेदवारको पक्षमा नखुले पनि शेखरको प्यानलमा मौनसमर्थन जनाएका थिए । उनि चुप रहेकै कारण सभापतिका उम्मेदवार देउवा र शेखरको दुवै प्यानलमा राखेर उनलाई केन्द्रीय सदस्यको उम्मेदवार भनेर प्रचार गरेका थिए ।
कांग्रेस सभापतिको निर्वाचनमा पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणमा शशांकले देउवालाई समर्थन गर्ने भएका हुन् ।
यसअघि सभापतिका प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि देउवालाई समर्थन रहने जनाइसकेका छन् ।