गत नोभेम्बरमा काठमाण्डूकी निमा शेर्पाको अस्ट्रेलियाको भिसा अवधि सकियो।
उनी नेपालमा छिन् र उनलाई फेरि अस्ट्रेलिया जान पाउने हो या होइन भन्ने पीरले असाध्यै सताएको छ। न उनको मेलबर्नस्थित कलेजमा सुरु भएको पढाइ सक्किएको छ न त उनले त्यहाँ जानका लिएको ऋण नै तिरिसकेकी छन्।
“पढाइ सकेर काम गर्छु, पैसा कमाउँछु र ऋण तिर्छु भन्ने योजना थियो। तर सीमा बन्द भएकाले सबै योजना प्रभावित भयो। अब फेरि भिसा पाइन्छ कि पाइँदैन भन्ने चिन्ताले निन्द्रै बिथोलिसक्यो,” शेर्पाले बीबीसीसँग भनिन्।
सन् २०२० को मार्चमा हजुरबुवाको निधन भएपछि आपत्कालीन बिदा लिएर उनी नेपाल आएकी थिइन्।
नेपाल आएको एक महिना नबित्दै कोरोनाभाइरसको सङ्क्रमण फैलियो। अस्ट्रेलियाले सङ्क्रमण नियन्त्रणका लागि सीमा ठप्प पार्यो। शेर्पा नेपालमै रहिन्।
“हरेक दिन समाचार हेर्थेँ। अस्ट्रेलियामा भएका साथीहरू र कन्सल्टेन्सी सञ्चालकहरूलाई सोध्थेँ- सीमा कहिले खुल्छ?,” उनले भनिन्,”सीमा खुल्नुअघि मेरो भिसा सकियो।”
झन्डै दुई वर्षदेखि ठप्प अस्ट्रेलियाको सीमा डिसेम्बर १ तारिखदेखि खुला गरिने बताइएको थियो।
तर विश्वका विभिन्न देशमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रन पुष्टि भयो। नयाँ भेरिअन्ट फैलने जोखिम न्यून गर्न त्यहाँको सरकारले सीमा खोल्ने निर्णय पुनः स्थगन गर्यो।
जसका कारण हतारहतार हवाई यात्राका लागि टिकट खरिद गरेका विद्यार्थीहरू फेरि अन्योलमा परे। विद्यार्थीसँगै कन्सल्टेन्सी र ट्राभल कम्पनी सञ्चालकहरू पनि मारमा परे।
उक्त अन्यौलता चिर्दै डिसेम्बर १३ बुधवार अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले फेसबुक स्ट्याटस लेखे। जसमा डिसेम्बर १५ तारिखदेखि अन्तर्राष्ट्रिय विद्यार्थी, जनशक्ति लगायतका लागि सीमा खुला गर्ने जनाइएको छ। प्रमुख स्वास्थ्यकर्मीहरूसँगको सल्लाहमा दुवै मात्रा खोप लगाएकाहरूले प्रवेश गर्न दिइने उल्लेख गरिएको छ।
“प्रधानमन्त्रीले नै पुष्टि गरे पनि म ढुक्क हुन सक्दिनँ। त्यसैले हतारहतार टिकट काट्ने भूल गर्दिनँ। भोलि कुनै ठाउँमा सङ्क्रमण दर बढ्यो भने तत्काल सीमा बन्द भएको खबर आउनसक्छ,” २० वर्षीय राजेश चौलागाईँ भन्छन्।
उनले डिसेम्बर १ मा टिकट काटेकाहरूले यात्रा रोकिएपछि पैसा फिर्ता लिन भोगेको झमेला नजिकबाट देखेका छन्। त्यसैले केही समय उत्साहित नभई अवस्था अवलोकन गर्ने योजना रहेको सुनाए। बीबीसी