त्यतिबेला सत्ताबाट पदच्यूत भएर भ्रष्टाचार अभियोगमा पक्राउ परेका थिए देउवा-Sutra News

त्यतिबेला सत्ताबाट पदच्यूत भएर भ्रष्टाचार अभियोगमा पक्राउ परेका थिए देउवा

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्।



पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि दोस्रो चरणको चुनावबाट उनी सभापति चुनिएका हुन्।

उनले शेखर कोइरालालाई पराजित गरेर दोस्रो पटक सभापति बन्न सफल भए।

मङ्गलवार पुन: भएको निर्वाचनमा कूल ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६२३ ले मत खसालेकोमा देउवाले २,७३३ र कोइरालाले १,८५५ मत पाए।

देउवाले पाएको मत कुल प्रतिनिधिको ५७.६२ प्रतिशत हो।

३५ मत बदर भएको दोस्रो चरणको निर्वाचनमा पहिलोमा भन्दा ५६ मत कम खसेको थियो।

पहिलो चरणमा देउवाको विरुद्धमा सभापतिको उम्मेदवार बनेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले दोस्रो चरणमा समर्थन गरेपछि देउवालाई चुनाव जित्न सहज बनेको थियो।

सोमवारसम्म पहिलो चरणमा सभापति नछानिए देउवालाई समर्थन नगर्ने भनिरहेका निधि र सिंह दुवैले साथ नदिँदा कोइराला भने पराजित हुन पुगे।

कांग्रेस सभापति देउवाको राजनीतिक यात्रा

कांग्रेसका सभापति देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन पाउने भाग्यमानी नेपाली नेतामा पर्छन्।

उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु गरेका थिए।

कार्यकर्ताको मतले सभापति चुनिएका देउवाको राजनीतिक छवि भने विवादरहित छैन।

आलोचकले उनलाई ‘प्रजातन्त्र दरबारलाई लगेर बुझाएको’ भन्ने आरोप पनि लगाउँछन्।

त्यस्तै उनले प्रधानमन्त्रीका रूपमा होस् वा पार्टी सभापतिका रूपमा “खासै राम्रो भूमिका निभाउन नसकेको” भन्नेहरू धेरै छन्।

कतिपयका नजरमा उनी “राजनीतिक संयोगहरूका कारण” पटक पटक सफलताको सिँढी चढ्न सफल भएका हुन्। कैयौँ कांग्रेसीहरूका भनाइमा देउवा कतिपय परिस्थितिमा ‘कूटनीतिकभन्दा पनि बढी स्पष्ट वक्ता’ देखिन्छन्।

सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए।

२०२२ सालमा सुदूर पश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।

त्यसपछि उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बने। पञ्चायत विरोधी राजनीति गर्दा देउवामा पटक-पटक जेल परेका थिए।

त्यस्तै राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि उनीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो र त्यस बेला समेत उनी केही समय जेल परेका थिए।

आफ्नो राजनीतिक जीवनमा पटक पटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएको प्रतिनिधिसभाको वेबसाइटमा राखिएको परिचयात्मक भिडियोमा देउवाले बताएका छन्।

प्रजातन्त्र कालमा देउवा

२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेका थिए

२०४८ सालमा डलेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्‌मा प्रमुख प्रतिपक्षी दलको नेता बने।

२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए।

त्यस बेला नेपालको संसदीय व्यवस्थामा कतिपय निकै आलोचित बनेका ‘सुरा-सुन्दरी काण्ड’लगायतका घटनाहरू पनि भएका थिए।

त्यस्तै उनलाई नेपालको इतिहासमा पहिलो पटक सबैभन्दा धेरै मन्त्रीहरू सामेल गरेर मन्त्रिमण्डल गठन गर्ने व्यक्तिका रूपमा पनि कैयौँले स्मरण गर्ने गर्छन्।

२०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो।

२०५६ सालमा डडेलधुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरे।

ज्ञानेन्द्रको उक्त कदमविरुद्ध पाँच दल आन्दोलित बने। त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे।

तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए।

त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो।

उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट