देउवाको जितपछि अबको राजनीतिक शक्तिसन्तुलन कस्तो होला ?-Sutra News

देउवाको जितपछि अबको राजनीतिक शक्तिसन्तुलन कस्तो होला ?

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा भंगको घटनापछि कांग्रेस सभापति शेरबहादुर देउवा केही समय राजनीतिक रूपमा ओलीका पक्षमा उभिए । विघटनविरुद्धका आन्दोलनमा फाट्टफुट्ट देखिन गएपनि देउवाले चुनावलाई केन्द्रमा राखेर आफूलाई मुभ गरिरहेका थिए ।



कांग्रेसभित्रको प्रतिपक्ष यता तत्कालीन नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल लगायत जसपा र अन्य शक्तिसँग मोर्चा बनाएरै आन्दोलन गर्नुपर्ने पक्षमा थियो । देउवाले त्यसको विरोध गर्थे र चुनावमा जाने कुरा गर्थे । देउवालाई डर थियो, कम्युनिस्टहरू जहिले पनि एक हुन सक्छन् भनेर । त्यसैले उनले प्रचण्डसँग संयुक्त मोर्चा बनाउन अस्वीकार गरेका थिए ।

ओली र देउवाबीच त्यतिबेला अघोषित राजनीतिक ऐक्यबद्धता देखिन्थ्यो । ओली पक्षले कांग्रेस सरकारमा आउन लागेको भन्दै प्रचारबाजीसमेत थालिएको थियो । प्रतिपक्षीको बेन्चमा बसेका देउवा संसद विघटनपछि बालुवाटार आउजाउलाई बाक्लो बनाएका थिए । परिस्थिति यहाँसम्म देखियो कि प्रचण्ड र नेपालले देउवालाई प्रधानमन्त्री बनिदिनुपर्यो भनेर गरेको आग्रहलाई देउवाले नजरअन्दाज गरेका थिए ।

प्रतिनिधि सभाको दोस्रो विघटनपछि एमालेको माधव पक्ष, माओवादी केन्द्र र अन्य साना दलले देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै सर्वोच्च अदालतमा परमादेश माग्न गए । अदालतले ओलीलाई बर्खास्त गरेर देउवालाई प्रधानमन्त्री बनाइदियो । प्रचण्ड र नेपाललगायतका नेताहरूको आग्रहमा प्रधानमन्त्री बन्न नचाहेका देउवा अदालतको परमादेशपछि प्रधानमन्त्री बनेका हुन् ।

देउवा प्रधानमन्त्री बनेपछि पनि एमसीसी र अर्ली इलेक्सनका विषयमा ओलीसँग ‘ट्युनिङ’ मिलेको थियो र त्यो कहीं न कहीं अहिले पनि देखिन्छ । परिस्थितिले देउवालाई प्रतिपक्षी बेन्चबाट बालुवाटार पुर्याइदियो भने ओलीलाई बालुवाटारबाट बालकोट पुर्याइदियो । दुवैका केही समान गुणहरू छन् । आफ्नालाई हदैसम्म च्याप्ने, साँघुरो घेराभित्र बसेर निर्णय गर्ने, आफ्नो राजनीतिक फाइदाका लागि संविधान र कानून च्यात्न पनि पछि नपर्ने ।

तिनै देउवालाई १४ औं महाधिवेशनमा कांग्रेस प्रतिनिधिहरूले सभापति बनाइदिए । पहिलो चरणमा बहुमत ल्याउन नसकेका देउवा आफ्ना विपक्षीहरू तितरवितर भएको फाइदा उठाएर दोस्रो चरणको निर्वाचनमा करीब ६० प्रतिशत मतले सभापतिमा विजयी भएका हुन् । देउवा सायद प्रधानमन्त्री नहुँदा हुन् त महाधिवेशनमा जित्न उनलाई थप कठीन पर्ने थियो ।

देउवाले आफूले सभापति नजिते फेरि केपी ओली सत्तामा आउन सक्ने प्रचार गरेका थिए । महाधिवेशनको उद्घाटन समारोहमै देउवाले भनेका थिए, ‘म प्रधानमन्त्री हुनुभन्दा अगाडि कस्तो डर त्रास थियो ? अहिले त्यो छैन । सबै मुक्त भएजस्तो छ । ओली शासन अन्त्य भएको छ ।’ सभापतिमा हार्दा प्रधानमन्त्रीमा रहिरहन नैतिक रूपमा अप्ठेरो हुने भन्दै देउवाले प्रधानमन्त्री पद र केपी ओलीलाई देखाएर प्रचार गर्न शुरू गरे । केही हदसम्म सफल भए ।

देउवानिकट एक नेता भन्छन् – ‘कांग्रेसको महाधिवेशनअघि र महाधिवेशनपछि देशकै राजनीतिमा केही फरक त आउँछ नै । अस्तिको एमालेको महाधिवेशन पनि चुनाव लक्षित थियो, कांग्रेसको पनि चुनाव लक्षित महाधिवेशन हो । महाधिवेशनबाट आएको नेतृत्वले चुनाव परिणामको केही अंश भविष्यवाणी गर्न सकिन्छ ।’

त्यसो भए राष्ट्रिय राजनीतिको शक्ति सन्तुलन कस्तो होला त ? यो प्रश्नमा उनले भने, ‘देउवाले नै जित्नु भनेको पाँच दलीय गठबन्धन कायम रहनु हो । अर्को नेतृत्व आएको भए गठबन्धन भएपनि शैली र ढाँचामा केही परिवर्तन हुन सक्थ्यो होला । उद्घाटन सत्रमै देउवाले ओली शासनबाट देशलाई मुक्त गर्न आफू बिजयी हुनुपर्ने बताएर ओलीविरुद्धको गठबन्धनलाई थप शक्तिशाली बनाउनुपर्ने आशय व्यक्त गरेका छन् ।’

पछिल्लो समयमा अबको आफ्नो राजनीतिक प्रतिस्पर्धी ओली नै हो भन्ने बुझाईमा देउवा पुगेका छन् । कम्युनिस्टहरू एक हुन सक्छन् भन्ने बुझाइमा रहेका देउवा ओली, प्रचण्ड र नेपालका पछिल्ला अभिव्यक्तिहरू सुनेपछि आजकल त्यो बुझाइलाई परिवर्तन गरेका छन् । कम्युनिस्टहरूलाई मिल्न नदिन पनि एउटा पक्षलाई आफूतिरै पार्नुपर्ने राजनीतिक बाध्यतामा देउवा छन् ।

प्रचण्ड र नेपाललगायतका सत्ता गठबन्धन साझेदार नेताहरूसँग मिल्दा एमालेलाई सजिलै पराजित गर्न सकिने र आगामी निर्वाचनमा सके कांग्रेसलाई एक्लै बहुमत दिलाउने नसके कम्तीमा सानो दलसँग मिल्दा पनि बहुमत हुने गरेर छैठौं पटक प्रधानमन्त्री बन्न सकिने आंकलन देउवाको छ ।

सरकारको नेतृत्वमा रहेकैले देउवालाई पार्टीको नेतृत्व प्राप्त गर्न सहज भएको देउवाले राम्रोसँग बुझेका छन् । सत्ताको नेतृत्व दिलाउने अन्य दलका नेताहरूप्रति देउवा सकारात्मक छन् । तत्काल सत्ता गठबन्धन परिवर्तन गरिहाल्ने मूडमा देउवा देखिएका छैनन् ।

अमेरिकी सहयोग परियोजना (एमसीसी)को हकमा मिलेर अघि बढ्न सकिने राय प्रचण्डले दिइसकेका छन् । संसदमा संकल्प प्रस्ताव पारित गरेर एमसीसी पेस गर्ने तयारी पहिलेदेखिकै हो । पछिल्लो समय एमालेले निरन्तर संसद अवरोध गरिरहेका कारण एमसीसी टेबुल हुन नपाएको हो ।

सत्ता साझेदार दलमध्ये विशेष गरेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुवैका अध्यक्ष प्रचण्ड र नेपालले केपी ओलीबाट क्षति भएको राजनीतिलाई देउवाको साथ लिएर माथि उठाउन चाहन्छन् । त्यसैले दुवै नेताहरू देउवाविरोधी गठबन्धनमा गइहाल्ने सम्भावना तत्काललाई देखिन्न ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बाहिर जे सुकै भनिएता पनि गठबन्धनलाई चुनावसम्म सँगै लैजाने भद्र सहमति भएको बताउँछन् । ‘बाहिर एक्लाएक्लै चुनाव लड्ने भनेर भनिएता पनि लोकतन्त्र र यो संविधानलाई जोगाउने शर्तमा चुनावसम्म नै गठबन्धन गरेर जाने विषयमा सबै दलको नेतृत्व एकढिक्का छ,’ महराले भने ।

पाँचैपटक प्रधानमन्त्री हुँदा देउवाले सरकार संचालनका सन्दर्भमा निकै आलोचना खेपेका छन् । तर उनी कुशल रणनीतिकार मानिन्छन् । तत्कालीन माओवादीले देउवाकै पालामा जनयुद्ध शुरू गरेको थियो, देउवाकै पालामा वार्ताको प्रयास भएको थियो । देउवाकै पालामा तत्कालीन राजाले शक्ति हत्याएका थिए । संविधान निर्माणपछि देउवाकै नेतृत्वमा संघ र प्रदेशको निर्वाचन भयो । यी सबै राजनीतिक घटनाक्रमको खेलाडी रहेका देउवा पार्टीभित्र झन् शक्तिशाली बनेका छन् भने गठबन्धनमार्फत शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट