भारतीय रक्षामन्त्रीले भने- ‘शिर झुकाउनु परे पनि नेपालसँग सम्बन्ध बिगार्दैनौँ’-Sutra News

भारतीय रक्षामन्त्रीले भने- ‘शिर झुकाउनु परे पनि नेपालसँग सम्बन्ध बिगार्दैनौँ’

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले “केही तत्त्वहरूले नेपाल र भारत बीच सम्बन्ध बिगार्न चाहेको” बताएका छन्।



उल्लेख्य मात्रामा नेपालीभाषीको समेत बसोबास रहेको भारतको उत्तराखण्ड राज्यमा मङ्गलवार भएको एक कार्यक्रममा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन्।

तर उक्त कार्यक्रममा बोल्ने क्रममा उनले दुई देश बीचको सम्बन्ध बिगार्न चाहने तेस्रो पक्ष को हो भन्ने खुलाएनन्।

कतिपय भारतीय नेताहरूले नेपाल र भारत बीचको सम्बन्ध बिगार्नका निम्ति चीनले भूमिका खेलेको बेलाबखत आरोप लगाउने गरेका छन्।

सिंहले उक्त कार्यक्रममा बोलेको ३२ मिनेट ४६ सेकेन्डको भिडिओ आफ्नै ट्विटर खाताबाट सेअर गरेका छन्।

उक्त भिडिओमा उनले नेपालका सम्बन्धमा भनेका छन्, “उत्तराखण्डको जहाँसम्म सवाल छ। नेपाल र तिब्बतको सीमा यससँग जोडिन्छ। नेपालको जहाँसम्म प्रश्न छ- नेपालसँग हाम्रो रोटी-बेटीको सम्बन्ध छ। नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ। तर म यो जानकारी तपाईँलाई दिन चाहन्छु- केही तत्त्वहरू यस्ता छन्, जसले नेपाल र भारतको सम्बन्ध खराब गर्न चाहन्छन्।”

तर उनले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै बिगार्न नचाहने आश्वस्त पार्न खोजेका छन्।

सिंहले भने, “तर म सरकारको प्रतिनिधि भएको हिसाबले के भन्न चाहन्छु भने चाहे जसुकै होस्, हामीलाई शिर झुकाएर रहनु किन नपरोस् तर हाम्रो छिमेकी नेपालसँग हाम्रो सम्बन्ध टुट्न दिँदैनौँ। हाम्रो नेपालसँगको सम्बन्ध कहिल्यै बिग्रन दिँदैनौँ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट