सुदूरपश्चिममा जनता आवास कार्यक्रम प्रभावित-Sutra News

सुदूरपश्चिममा जनता आवास कार्यक्रम प्रभावित

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

सुदूरपश्चिम प्रदेशमा जनता आवास कार्यक्रम प्रभावित भएको छ । सरकारसँग बजेट अभाव हुँदा थप घर निर्माण कार्य प्रभावित बनेको हो ।



आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरसको संक्रमणका कारण घरधुरी छनौट गर्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले दोस्रो वर्ष छनौट गरेको थियो ।

तर आर्थिक वर्ष २०७७/७८ मा कैलाली र कञ्चनपुरमा छनौट भएका ४३७ घर अहिले पनि निर्माणको चरणमा रहेको सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर एवम् सूचना अधिकारी भूपेन्द्र सिंहले जानकारी दिए । उनकाअनुसार कैलालीमा २०० र कञ्चनपुरमा २३७ घर निर्माणको चरणमा छन् ।

कार्यालयले प्रतिघर तीन लाख ३६ हजार रुपैयाँका दरले सम्बन्धित घरधनीलाई बजेट भुुक्तानी गर्नुपर्नेमा हालसम्म पहिलो किस्ताबापतको ९० हजार रुपैयाँ वितरण गरिएको सिंह बताउँछन् । दोस्रो र तेस्रो किस्ता भने कामका आधारमा भुक्तानी दिइने बताउँदै सिंहले अहिलेसम्म निकासा नदिइएको बताए ।

बजेट अभाव

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुु आर्थिक वर्षमा जनता आवास कार्यक्रमका लागि भन्दै १० करोड ८१ लाख रुपैयाँ बजेट पठाएको छ । मन्त्रालयबाट कैलालीका लागि पाँच करोड ७६ लाख र कञ्चनपुरका लागि पाँच करोड पाँच लाख बजेट आएको सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख गोविन्द देवकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ मै छनौट भएर निर्माण गरिनुपर्ने चार सय ३७ घर कोरोना महामारीका कारण तीन वर्षदेखि निर्माणकै चरणमा छन् ।

प्रदेश सरकारले निकासा गरेको बजेट हाल निर्माण भइरहेका घरका लागि पुग्ने देखिए पनि सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु वर्षमा थप घर निर्माण गर्नमा भने समस्या हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट