कांग्रेसलाई गतिशील बनाउन म अझ सक्रिय रहिरहने छु- प्रदीप पौडेल-Sutra News

कांग्रेसलाई गतिशील बनाउन म अझ सक्रिय रहिरहने छु- प्रदीप पौडेल

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीपदमा उम्मेद्वार भई पराजित भएका नेता प्रदीप पौडेलले निर्वाचित भएका गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई दिएका छन् ।



विहिबार एक सन्देशमार्फत उनले हारको स्वीकार गर्दै गगन र विश्वप्रकाशले जितेकोमा खुशी भएको बताएका छन् ।

लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व छनोटको मित्रवत निर्वाचन प्रक्रिया अपनाएको भन्दै उनले लेखेका छन्, ‘हामीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व छनोटको मित्रवत निर्वाचन प्रक्रिया अपनायौं । लोकतन्त्रको सौन्दर्य भनेको स्वस्थ निर्वाचन नै हो । निर्वाचनमा हार जीत अवश्य हुन्छ । निर्वाचनबाट प्राप्त मतलाई स्वीकार गर्नु लोकतन्त्रको अभ्यास हो ।’

जितेका उम्मेद्वारहरुलाई बधाई दिदै उनले अघि लेखेका छन्, ‘साथीहरुको अपार माया र साथले प्राप्त परिणामले नेपाली कांग्रेसको गतिशीलता खोजी रहेका लाखौं कार्यकर्ता र आम जनताका लागि नयाँ इतिहास निर्माण गर्ने अवसर दिलाएको छ । यो प्राप्त अवसर प्रति म अत्यन्तै खुशी छु ।’

कांग्रेस रुपान्तरणको यस अभियानमा सम्पूर्ण नेताहरुलाई उनले आफ्नो साथ र सहयोग रहने वचनबद्धता समेत व्यक्त गरेका छन् ।

‘कांग्रेसलाई गतिशील बनाउन म अझ सक्रिय रहिरहने छु । आगामी दिनमा मेरो सम्पूर्ण प्रयत्न पार्टीलाई वैचारिक र सांगठनिक रुपमा अझै सशक्त बनाउन केन्द्रित हुनेछ,’ उनले भनेका छन्, ‘१४ औं महाधिवेशनमा मलाई विश्वास गरेर महामन्त्रीमा मत दिनुहुने र महाधिवेशन सफल बनाउन सक्रियताका साथ सहभागी महाधिवेशन प्रतिनिधिलगायत सबै क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तक एबं हितैषी साथीहरु र समग्र कांग्रेस परिवारप्रति सुहृदय आभार एवम् धन्यवाद व्यक्त गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट