काँग्रेस महाधिवेशन- महामन्त्रीको नतिजाले के संकेत गर्छ ?-Sutra News

काँग्रेस महाधिवेशन- महामन्त्रीको नतिजाले के संकेत गर्छ ?

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

सत्तारूढ नेपाली कांग्रेसमा महामन्त्रीका दुई पदमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको सो पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।



भर्खरै सकिएको मतगणनाअनुसार थापा ३,०२३ र शर्मा १,९८४ मत ल्याएर विजयी भएको निर्वाचन समितिका सदस्य सीताराम केसीले बीबीसीलाई बताए।

दुवै जना कांग्रेसको भातृसङ्गठन नेपाल विद्यार्थी सङ्घबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन्।

थापा र मीनेन्द्र रिजाल शेखर कोइराला प्यानलबाट, प्रकाशशरण महत र प्रदीप पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट, शर्मा प्रकाशमान सिंह प्यानलबाट अनि राजाराम कार्की विमलेन्द्र निधि प्यानलबाट महामन्त्री पदका उम्मेदवार थिए।

निर्वाचन समितिका अनुसार १४ औँ महाधिवेशनअन्तर्गत सोमवार भएको मतदानमा ४,६८२ जनाले मतदान गरेका थिए। खसेका ३३ मत बदर भएका थिए।

उपसभापति पदमा कोइराला समूहका धनराज गुरुङ र देउवा समूहका पूर्णबहादुर खड्का विजयी घोषणा भइसकेका छन्।

सबैभन्दा पहिला सभापति पदमा देउवा निर्वाचित भएको घोषणा गरिएको थियो।

सर्वाधिक मत ल्याएर महामन्त्री निर्वाचित थापाले सबैको मन जितेर अगाडि बढ्ने आफ्नो प्रयास रहने बताए।

“इमान्दारीपूर्वक म आफ्नो जिम्मेवारी निर्वाह गर्नेछु। एउटा समूहको तर्फबाट लडेको थिएँ, तर अब म सिङ्गो पार्टीको महामन्त्री हुँ,” उनले भने।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले आफ्नो व्यक्तिगत वा गुटगत जित नभएको प्रतिक्रिया दिएका छन्।

“बदलिएको कांग्रेस बनाउने आकाङ्क्षाको जित भएको छ। कांग्रेस हिजोको जस्तै अब चल्दैन। कांग्रेस रूपान्तरित भएर जान्छ,” उनले भने।

कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन गराउने व्यवस्था छ।

कोषाध्यक्ष चाहिँ निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जना निर्वाचित हुने विधानमा उल्लेख छ।

त्यसैगरी खुला केन्द्रीय सदस्य ३५ जना, महिला नौ, प्रत्येक प्रदेशबाट तीन-तीन गरी २१, मधेशी र दलित नौ-नौ, आदिवासी जनजातिबाट १५, खसआर्यबाट १३, थारू चार, मुस्लिम तीन र पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक तथा अपाङ्गता भएकाबाट एक-एक गरी १३४ पदाधिकारी तथा सदस्य निर्वाचनबाट चुनिने व्यवस्था छ।

माथि उल्लिखितबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने पार्टीको विधानले व्यवस्था गरेको छ।

परिणामले के सङ्केत गर्छ?

देउवा सभापतिमा दोहोरिए पनि अरू मुख्य पदमा अर्को समूहका नेताहरू पनि चुनिएका छन्।

उपसभापतिमा खड्का देउवानिकट भए पनि अर्का उपसभापति गुरुङ शेखर कोइराला समूहका नेता हुन्।

महामन्त्रीमा निर्वाचित भएका नेताद्वय थापा र शर्मा दुवै जना देउवाइतर समूहका हुन्।

“यो नतिजाले एउटा प्रष्ट सङ्केत के गर्छ भने नेपाली कांग्रेसको आमपङ्क्ति रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणका लागि आतुर छ,” राजनीतिक विश्लेषक विष्णु सापकोटाले बीबीसीसँग भने।

“आगामी महाधिवेशनबाट कांग्रेसमा आमूल रूपमा नयाँ नेतृत्व आउँछ र त्यसपछि कांग्रेस त्यसैले अगाडि बढ्छ जस्तो लाग्छ।”

पार्टी नेतृत्व परम्परागत रूपमा कब्जा भएको स्थितिबाट मुक्त गराउने प्रयास गरिए पनि त्यो पूर्ण रूपमा सफल नहुँदा सभापतिमा देउवा पुनः निर्वाचित भएको सापकोटाको ठम्याइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट