खर्च गर्न सक्नुहुन्न भने बजेट समातेर बस्न पाउनुहुन्नः अर्थमन्त्री शर्मा-Sutra News

खर्च गर्न सक्नुहुन्न भने बजेट समातेर बस्न पाउनुहुन्नः अर्थमन्त्री शर्मा

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

महिनाको १० प्रतिशतका दरले पुँजीगत (विकास) खर्च गर्ने अर्थमन्त्री जनार्दन शर्माको योजना असफल भएपछि अर्थ मन्त्रालयले अन्तरमन्त्रालय छलफल सुरु गरेको छ । अर्थमन्त्री शर्माले शुक्रबार अर्थ मन्त्रालयमा सरोकारवाला विकासे मन्त्रालयका मन्त्रीहरुसँग छलफल गर्दै पूँजीगत खर्च बढाउन आग्रह गरे ।



अर्थमन्त्री शर्माले मन्त्रीहरुलाई योजनाअनुरुप पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्नुपर्ने बताए । समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामासमेत असर परेको भन्दै मन्त्री शर्माले विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न आग्रह मात्र होइन ताकेता नै गरे ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाईं मन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानी मन्त्री उमाकान्त चौधरीलगायत सहभागिता थिए ।

आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च गरिसक्नुपर्ने भन्दै मन्त्री शर्माले समयमै खर्च गर्न अर्थ मन्त्रालयले गर्नुपर्ने समन्वयलगायत काम समयमै गर्ने प्रतिवद्धता व्यक्त गरे । बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिने उनको भनाइ छ ।

‘बजेट त्यहीँ बसिराख्दैन । यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिने छैन,’ उनले भने, ‘असारमा आएर बजेट निकासा हुँदैन । जे निकासा हुने हो पहिले नै हुन्छ । खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौँ ।’

मन्त्री शर्माले मन्त्रीहरुलाई खर्च गर्न नसक्ने स्थिति भए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने घुमाउरो चेतावनीसमेत दिए । उनले भने– ‘खर्च गर्नुस्, बजेट लिनुस्’, मन्त्री शर्माले भने, ‘खर्च गर्नुहुन्न त्यो बजेट समातेर बस्न पाउनुहुन्न ।’

चालु आवमा सरकारले कुल विकास खर्च गर्ने लक्ष्य ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ राखेपनि महालेखा परीक्षकको कार्यालयका अनुसार मंसिर मसान्त (बुधबार)सम्म विकास खर्च लक्ष्यको ६.४६ प्रतिशत मात्र भएको छ । विकास खर्च साउनबाटै हरेक महिना औसतमा मासिक ३६ अर्ब रुपैयाँ हुनुपर्नेमा ५ महिनासम्मको प्रगति भने दयनीय छ ।

मंसिर मसान्तसम्म सरकारले मत्र २८ अर्ब ४० करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यो मासिक ५ अर्ब ६८ करोड रुपैयाँ मात्रै खर्च हो जसका कारण अर्थमन्त्री शर्मालाई आफ्नो योजना अनुसार खर्च नहुँदा दवाव परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट