महाधिवेशनमा देउवालाई सहयोग गरेबापत क-कसले पाउँदैछन् ‘मन्त्री पुरस्कार’ ?-Sutra News

महाधिवेशनमा देउवालाई सहयोग गरेबापत क-कसले पाउँदैछन् ‘मन्त्री पुरस्कार’ ?

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

महामन्त्रीको मतगणना चलिरहेका बेला आफू पछि परेपछि रक्षामन्त्रीसमेतको जिम्मेवारी पाएका कांग्रेस नेता मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरे ।



यतिबेला कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको क्याबिनेटमा रक्षा मन्त्रालय खालि भएको छ ।

त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका भनिएका गजेन्द्रबहादुर हमालले ४८ घण्टामै राजीनामा बुझाए । उक्त मन्त्रालय पनि खालि छ ।

खालि भएका दुवै मन्त्रालयमा देउवाले महाधिवेशनमा आफूलाई सघाउनेहरूलाई सेटल गर्न लागेका छन् ।

पहिलो चरणको प्रतिस्पर्धाबाट सभापति निर्वाचित हुन नसकेपछि देउवाले सभापतिका तीन प्रत्यासीबाट दोस्रो चरणको मतदानमा सहयोग पाएका थिए ।

प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको सहयोग लिएर देउवाले शेखर कोइरालाविरुद्ध शानदार जीत हासिल गरे ।

अब ज-जसले आफूलाई सहयोग गरेर सभापति जिताए, उनीहरूमध्ये केहीलाई यिनै दुईवटा मन्त्रालयमा सेटल गर्नतिर देउवा लागेका छन् ।

दोस्रो चरणको निर्वाचनअघि देउवाले सिंहले तत्कालै उपप्रधानमन्त्री बनाउने वाचा गरेको समाचार बाहिरिएको थियो । सिंहनिकट स्रोतले यसको खण्डन गरिसकेको छ ।

तर सिंहको प्यानलबाट उपसभापति लडेकी गिरिजापुत्री सुजाता कोइरालाले मन्त्री बन्न लबिङ शुरू गरिसकेकी छन् । निधिलाई के उपहार दिन्छन् भनेर यहिल्यै यसै भन्न सकिने अवस्था छैन ।

सुजाताले देउवा सरकार गठनकै बेला आफूलाई उपप्रधानमन्त्री बनाउनुपर्ने मागसमेत राखेकी थिइन् । स्रोत भन्छ, ‘उपप्रधानमन्त्रीसहित एक मन्त्रालय सुजाताले पाउने लगभग पक्कापक्की छ ।’

अमेरिकी सहयोग परियोजना (एमसीसी)को छिनोफानो भएलगत्तै देउवा मन्त्रीमण्डल पुनःगठन गर्ने सोचाइमा पुगेका छन् ।

देउवालाई अर्को अप्ठेरो पनि छ । मन्त्रिपरिषद बिस्तार गर्दा उपप्रधानमन्त्री पद नराख्ने निर्णय गरेका देउवाले आफ्नै पार्टीबाट कसैलाई उपप्रधानमन्त्री बनाउनुपर्यो भने गठबन्धनका अन्य दलहरूले पनि सोही पद माग्न सक्छन् ।

देउवालाई पार्टीभित्रैबाट पनि अप्ठेरो परेको छ । दुवै मन्त्रालयमा आफूखुसी नियुक्ति गर्दा शेखर कोइराला समूह बिच्किन सक्छ । एक मन्त्रालय आफूले पाउनुपर्ने शेखरको दाबी अस्वाभाविक रहेन ।

सभापतिमा हारेर पनि पार्टीभित्र शक्तिशाली नेता बनेर उदाएका शेखरलाई नजरअन्दाज गर्न देउवालाई गाह्रो छ ।

यदि शेखरले एउटा मन्त्रालय आफ्नो भागबण्डामा पारेमा गगन थापा उपयुक्त पात्र हुनेछन् ।

महामन्त्रीमा करीब दुईतिहाइ मतसहित बाजी मारेका गगनलाई एउटा मन्त्रालय दिएर आफूविरुद्ध उठ्ने पार्टीभित्रकै प्रतिपक्षी आवाज मधुरो हुन सक्ने देउवा समूहको आंकलन छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट