-Sutra News

शनिबार, ३ पौस २०७८

शनिबार, ३ पौस २०७८

नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्दसत्र स्थगित भएको छ । २५ मंसिरमा सम्पन्न भएको प्रदेश अधिवेशनको उद्घाटन सत्र ३ पुसमा सर्लाहीको लालबन्दीमा हुने भनिएको थियो । तर, पार्टीभित्रको विवादका कारण ३ पुसमा पनि हुन सकेन ।



सप्तरीलगायतमा जिल्लामा अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

बन्दसत्रका लागि आवश्यक तयारीसमेत पुरा नभएकाले स्थगित गरिएको उनले बताए । प्रदेश २ को १३६ वटा स्थानीय तह मध्ये अहिले ३० भन्दा बढी स्थानीय तहको अहिलेसम्म पनि अधिवेशन हुन सकेको छैन । सप्तरीका १८ मध्ये १५ वटा स्थानीय तहमा अझै विवाद रहेको छ । त्यसैगरि, सिराहा, महोत्तरी, सर्लाही, धनुषालगायतका जिल्लाका केही पालिकामा पनि विवाद कारण अधिवेशन हुन सकेको छैन ।

अध्यक्ष बुढाथोकीले भने, ‘एक सप्ताहको लागि समय दिए पनि प्रदेशका सबै पालिकाहरूबाट अहिलेसम्म प्रतिनिधि विवाद समाधान हुन सकेको छैन । ती विवाद समाधानका लागि एक दिनको समय तोकिएको छ । विवाद समाधान भएपछि आइतबारदेखि बन्दसत्र सुरु हुन्छ ।’

माओवादीका एक नेताका अनुसार प्रदेशमा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मातृका यादवबिचको मतभिन्नताको कारण प्रदेश अधिवेशनको समय लम्बिँदै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट