ओमिक्रोन भेरियन्ट प्रभावः नेदरल्याण्डमा लकडाउन-Sutra News

ओमिक्रोन भेरियन्ट प्रभावः नेदरल्याण्डमा लकडाउन

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

युरोपेली मुलुक नेदरल्याण्डमा कोरोना भाइरस (कोभिड–१९) ओमिक्रोनको नयाँ भेरियन्टको प्रभाव परेको छ । त्यहाँको सरकारले ओमिक्रोन तिव्र गतिमा फैलिन सक्ने भन्दै आइतबारदेखि लकडाउन लगाउने घोषणा गरेको छ ।



शनिबार नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलन गर्दै आइतबार बिहान ५ बजेदेखि लकडाउन गर्ने घोषणा गरेका हुन् । उनले अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द रहने जानकारी दिए ।

लकडाउन लागेसँगै जनवरी १४ गतेसम्म घरभित्र हुने जमघटमा २ जनाभन्दा मानिस फेला हुन पाउने छैनन् । तर क्रिसमस र नयाँ वर्षमा भने ४ जनासम्म फेला पाउने छन् । बाहिर हुने जमघटमा पनि बढीमा २ जना मानिस मात्रै फेला हुन पाउने छन् ।

त्यस्तै, सबै विद्यालय एवं विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप जनवरी ९ गतेसम्म बन्द हुनेछन् । जनवरी ३ गते बस्ने मन्त्रिमण्डल बैठकले उक्त मितिपछि विद्यालय खोल्ने वा नखोल्ने भनेर निर्णय गर्ने आरटीएल न्युजले जनाएको छ ।

यसबाहेक, अधिकांश इन्डोर खेलकुद केन्द्र बन्द गरिने छ तर स्विमिङ केन्द्र भने खुला राखिने छ । तर बाह्य खेलकुद स्थल सबै उमेर समूहका लागि खुला राखिने छ ।

यसैबीच, शनिबार नै विश्व स्वास्थ्य संगठनले समुदायमा संक्रमण देखिएका मुलुकमा ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिइरहेको बताएको छ । डेढ दिनदेखि ३ दिनभित्रमा यसका संक्रमित दोब्बरले बढेको संगठनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट