उपेन्द्र यादवको मागः नागरिकता नभएकाहरुलाई पनि भोट हाल्न दिइयोस्-Sutra News

उपेन्द्र यादवको मागः नागरिकता नभएकाहरुलाई पनि भोट हाल्न दिइयोस्

आइतबार, ४ पौस २०७८

आइतबार, ४ पौस २०७८

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आसन्न निर्वाचनमा नागरिकता नभएकाहरुलाई पनि मताधिकार दिनुपर्ने माग गरेका छन् । उनले निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन भइरहेकोप्रति ध्यानाकृष्ट गर्दै उमेर पुगेका तर नागरिकता नभएकाहरुलाई पनि मताधिकार दिनुपर्ने माग गरेका हुन् ।



यादवले नागरिकता प्रमाणपत्र पाउनु र नागरिक हुनु फरक बिषय भएकाले उमेर पुगेका तर नागरिकता नभएकाहरुलाई मतदाता नामवलीमा सामेल गराउन माग समेत गरेका छन् ।

उनले सामाजिक संजालमार्फत निर्वाचन प्रक्रियामा भाग लिन पाउने प्रत्येक नागरिकको नैसर्गिक अधिकार भए पनि निर्वाचन आयोगले नागरिकता हुनेलाई मात्र मतदाता नामावलीमा समावेश गरेकोमा आपत्ती जनाएका छन् ।

‘नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुबै फरक विषय हुन्,’ अध्यक्ष यादवको तर्क छ, ‘नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि ब्यक्ति गैरनागरिक हुनसक्दैन ।’ लाखौं जन्मसिद्ध नागरिकलाई राज्यले नागरिकता प्रमाणपत्र नदिएको उनले उल्लेख गरेका छन् ।

‘एकातिर नागरिकता प्रमाणपत्र नदिने र अर्कोतिर मतदान गर्न पाउने अधिकार तथा निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक, अन्तर्राष्ट्रिय कानून विपरीत र मानवताविरोधी कार्य हो,’ अध्यक्ष यादवले भनेका छन्, ‘निरंकुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन ।’

‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यले पूरा नगर्ने र त्यसको सजाय जनताले भोग्नुपर्ने यो कस्तो न्याय हो ?,’ प्रश्न गर्दै अध्यक्ष यादवले यसबारे निर्वाचन आयोग र सरकारले गम्भीरताका साथ लिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट