सुन्तलाबाट धमाधम लखपति बन्दै स्याङ्जाका किसान-Sutra News

सुन्तलाबाट धमाधम लखपति बन्दै स्याङ्जाका किसान

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

एकजना किसानले सुन्तला खेतीबाट वर्षमा कति आम्दानी गर्लान्?  धेरैको अनुमान उति नहोला, जति स्याङजाका किसानले कमाउँछन्। स्याङजाका एकैजना किसानले सुन्तला बेचेर वर्षमा ३० लाख भन्दा बढी रकम नाफा मात्र कमाउँछन्। ३० लाख नाफा कमाउँदा ती किसानको आम्दानी झन्डै ४० लाख पुग्छ। नाफा बाहेकको रकम उनको खर्च कटौती हो।



स्याङजाका सुन्तला किसान फणिनारायण अर्यालले पोहोर सुन्तलाबाट ३२ लाख रुपैयाँ नाफा मात्र कमाएका थिए। करिब ४० लाख रुपैयाँ सुन्तलाबाट आम्दानी गरेकोमा खर्च कटाउँदा पनि ३२ लाख रुपैयाँ नाफा मात्र भएको अर्यालले बताए। ‘२०३६ सालदेखि सुन्तला खेती सुरु गरेको हुँ। पोहोर सबैभन्दा बढी नाफा भयो। तर, योपटक पोहोरजति आम्दानी नहुने पक्का छ,’ अर्यालले भने, ‘योपटक उत्पादन घटेकोले आम्दानी पनि घट्नेछ।’

अर्यालले बारीमा २०३६ सालदेखि सुन्तला रोप्न थालेका थिए। सुरुमा ५–६ रोपनीमा १ सय बोट सुन्तला रोपेका थिए। त्यसपछि आकार बढाउँदै लगे। धान फल्ने खेत पनि मासेर सुन्तला रोप्न थालेका उनको ८० रोपनीमा १८ सय बोट सुन्तला छन । ती सबैजसो बोटले दाना दिन्छ। उनले पछिल्लो समय ३–४ वर्षमा दाना दिने बोट रोपेका छन्। ‘सुन्तलाले मलाई सबथोक दिएको छ। लामो समयदेखिको यो खेतीमा रहँदा आम्दानी पनि बढेको छ,’ अर्यालले भने। सुन्तला खेती गर्ने किसानले मल, सिंचाई, काँटछाँटमा खर्च गर्नुपर्छ। नत्र मौसमले साथ दिएमा आम्दानी राम्रो हुनले उनले बताए।

स्याङजाकै मुक्ति अधिकारीले पनि पोहोर सुन्तला खेतीबाट २० लाख रुपैयाँ नाफा मात्र कमाएका थिए। उनले पोहोर २६ लाख ११ हजार रुपैयाँमा सुन्तला बेच्दा २० लाख मुनाफा मात्र हात पारेका थिए। ३ सय रोपनी क्षेत्रफल खेतीमा उनले २१ सय बोट लगाएका छन। ती मध्ये साढे ४ सय बोटबाट मात्र उनले अहिले आम्दानी लिन्छन। अरु अझै फल्न थालेका छैनन। ‘साढे ४ सय बोटबाट २० लाख रुपैयाँ नाफा मात्र कमाउनु चानचुने कुरा होईन। तर, यो पटक भने पोहोरजस्तो आम्दानी नहुने भएको छ,’ अधिकारीले भने, ‘सुन्तलाले मलाई गाडी चढ्ने औकात बनाईदिएको छ।’

अर्याल र अधिकारीजस्ता स्याङजाका धेरै किसानले सुन्तलाबाट वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्छन। वर्षमा १० लाख रुपैयाँ नाफा कमाउने किसान धेरै नै छन्। एकलाखदेखि ३२ लाख रुपैयाँ वर्षमा सुन्तलाबाट नाफा मात्र गर्ने किसान स्याङजामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना सुन्तला सुपर जोनका प्रमुख माधव लम्साल बताउँछन्। लम्सालका अनुसार स्याङजामा झन्डै २ हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ। १२ सय हेक्टरका विरुवामा फल लाग्ने गरेको छ। बाँकी ८ सय हेक्टर क्षेत्रफलमा विरुवा लगाइएको छ। ती विरुवाले अबको केहीवर्षमा दाना दिन थाल्नेछन।

लम्सालका अनुसार यतिबेला स्याङजामा सुन्तला टिप्नेको बगैंचामा भीडभाड छ। पोखरा, बुटवल, नारायणगढ, काठमाडौं सहितका सहरका ब्यापारी सुन्तला किन्न स्याङजा पुगेका छन। स्याङजाका किसानलाई सुन्तला बिक्री नहोला भन्ने चिन्ता नै नरहेको उनले बताए। ‘पोहोर कोरोनाले गर्दा किसान अलि डराए। नत्रभने किसानले घरै बसीबसी सुन्तलाबाट लाखौं कमाउँछन,’ उनले भने। स्याङजाको पुतलीबजार, अर्जुनचौपारी, वालिङ, गल्याङ, भीरकोट लगायतका क्षेत्रका गाउँ सुन्तला बढी उत्पादन हुने ठाउँ हुन्। नागरिक दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट