एमाले अवरोधका कारण राष्ट्रिय सभा बैठक अर्को सूचना जारी नभएसम्म स्थगित-Sutra News

एमाले अवरोधका कारण राष्ट्रिय सभा बैठक अर्को सूचना जारी नभएसम्म स्थगित

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताए ।



एमालेले कारबाही गरेका व्यक्तिहरू सदनमा रहेको भन्दै उनले प्रतिपक्षी दलविनाको सर्वदलीय बैठक बस्नेदेखि विकास निर्माणमा ढिलासुस्ती र महंगी बढिरहेका बेला सरकार चुप लागेर बसेको आरोप लगाए । उनले सदन खुलाउनेदेखि देशमा देखिएका अन्य समस्या समाधानमा सरकारले प्रतिपक्षी दलसँग किन वार्ता गर्दैन भन्दै प्रश्न गर्दै सदन चल्न नसक्ने बताए ।

यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसबारे ध्यानाकर्षण भएको र प्रतिपक्षी दलको माग सम्बोधन गर्न सम्बन्धित पक्षलाई रुलिङ गर्दै सदन चल्न दिन एमाले सांसदसँग आग्रह गरे ।

तर, एमाले सांसदहरूले उठेर मौन रुपमा विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले भने, ‘आजको कार्यसूचीमा समावेश भएको विषयलाई कार्यसूचीबाट हटाएको व्यहोरा जानकारी गराउँदछु । माननीय सदस्यहरू अब अर्को बैठक अर्को सूचनाद्वारा तोकिने गरी यो बैठक स्थगित हुन्छ ।’

अर्को बैठकको मिति नतोकिएकाले अब राष्ट्रिय सभाको बैठक कहिले बस्छ भन्ने निश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट