यस्तो आयो ‘कबड्डी ४’ को टिजर, आगामी बैशाख २३ गते प्रदर्शन हुने-Sutra News

यस्तो आयो ‘कबड्डी ४’ को टिजर, आगामी बैशाख २३ गते प्रदर्शन हुने

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

फिल्म ‘कबड्डी ४’ को प्रदर्शन मितिसहित टिजर सार्वजनिक गरिएको छ । दुई हप्ताअघि मुस्ताङमा छायांकन सकिएको फिल्मको सोमवार टिजर सार्वजनिक गरिएको हो । फिल्मको मिति आगामी बैशाख २३ गतेलाई तोकिएको छ ।



प्रेम वियोगले विरक्तिएका दयाहाङ राई (काजी)को जीवनमा मिरुना मगर (मिस शान्ति) को आगमनपछि आउने उतारचढावलाई टिजरमा देखाइएको छ ।

टिजरको सुरुवातमा दयाहाङले बुद्धि तामाङ र विजय बरालसँग ‘आजदेखि मेरो बिहेको कुरा सकियो केटा हो, अब म आफ्नो बाटो लाग्छु तिमारु पनि आफ्नो बाटो लाग’ भन्दै खोलामा मोबाइल फ्याकिदिन्छन् । उता, शहरबाट शिक्षिकाको रुपमा मिरुनाको आगमन हुन्छ भने घोडा चढेर सौगात मल्ल (बमकाजी) को पनि इन्ट्री भएको छ । टिजरमा समावेश केही संवाद रमाइला छन् ।

रामबाबु गुरुङ निर्देशित यो फिल्मलाई ‘कबड्डी’ को अन्तिम सिरिज भनिएको छ । यसैले फिल्मको उप–शिर्षक ‘द फाइनल म्याच’ राखिएको छ ।

बासुरी फिल्मस् र सुष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । फिल्ममा गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको पनि अभिनय छ ।

शैलेन्द्र डि. कार्कीको छायाँकन फिल्ममा कालीप्रसाद बाँस्कोटा र एसडी योगीको संगीत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट