घट्दै रेमिट्यान्सः सर्वसाधारण नागरिकलाई कस्तो असर पर्ला?-Sutra News

घट्दै रेमिट्यान्सः सर्वसाधारण नागरिकलाई कस्तो असर पर्ला?

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८
nrb

विदेशबाट नेपालीहरूले पठाउने रेमिट्यान्स अर्थात्‌ विप्रेषण आप्रवाह घट्दो क्रममा रहेको सङ्केत केन्द्रीय ब्याङ्कको तथ्याङ्कले गरेको छ।



नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो चौमासिक प्रतिवेदनअनुसार साउनदेखि कार्तिकसम्म नेपाल भित्रिने रेमिट्यान्स लगातार घटिरहेको पाइएको हो।

गत साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स असोजमा करिब ८ प्रतिशतले र कार्तिकमा ७.५ प्रतिशतले घटेको छ।

राष्ट्र ब्याङ्कका अनुसार अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो।

साउनदेखि कार्तिकको अवधिमा रेमिट्यान्सबापत तीन खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ नेपाल भित्रिएको छ।

घट्नुका कारण के?

विदेशबाट अनौपचारिक च्यानलमार्फत् पैसा पठाउनु रेमिट्यान्समा कमी आउनुको एउटा कारण हुनसक्ने राष्ट्र ब्याङ्कका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्।

“हाम्रा कामदारले पाउने डलर व्यापारीहरूले उतै खरिद गरी स्वदेशमा उनीहरूलाई नेपाली रुपैयाँ भुक्तानी गरिरहेको हुनसक्छ,” बीबीसीसँग उनले थपे।

यो कुरामा पूर्वअर्थसचिव रामेश्वर खनाल पनि सहमत देखिन्छन्।

“नेपाल आउनुपर्ने विदेशी मुद्रा त्यतै किनेर यता रेमिट्यान्स कम्पनीहरूले आफ्नो सञ्चयबाट नेपाली मुद्रा भुक्तानी गरिरहेको जस्तो लाग्छ।”

“नेपालमा विदेशी मुद्रा कम आउँदा आउँदै नेपाली मुद्राको कारोबार बढेकोले पनि त्यो कुराको पुष्टि हुन्छ,” खनालले थपे।

अर्थविद्‌ पोषराज पाण्डेको बुझाइमा अहिलेको अवस्था देखिनुमा तीनवटा कारण हुन सक्छन्।

“अनौपचारिक च्यानलबाट रकम पठाइनु, अन्डर-इन्भोइसिङ [न्यून बीजकीकरण] र क्यापिटल फ्लाइट [पुँजी पलायन]। यी तीनवटा बदमासीबारे मलाई एकदमै आशङ्का छ,” बीबीसीसँग उनले भने।

रेमिट्यान्स घट्दा के हुन्छ?

रेमिट्यान्सलाई लिएर अहिले नै चिन्ता गर्नुपर्ने अवस्था नआएको राष्ट्र ब्याङ्कका अधिकारीहरूको तर्क छ।

“रेमिट्यान्स रकममा त्यति धेरै उतारचढाव देखिएको छैन। त्यसैले अहिले नै चिन्ता गरिहाल्नुपर्ने स्थिति छैन,” सहप्रवक्ता पोखरेलले भने।

सङ्क्रमण दर केही मत्थर भएसँगै पछिल्लो समय कामदारको माग बढेकोले पनि यो स्थति लम्बिन नसक्ने अधिकारीहरूको विश्वास छ।

तर अर्थविद्‌ आचार्यका अनुसार तीन-चार महिनाकै अवधिमा एक अर्ब डलरसम्म रेमिट्यान्स घट्नु नेपालका लागि सुखद नहुन सक्छ। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट