केपी ओलीले एमसीसीका धेरै डकुमेन्ट लुकाए, अहिले खोज्दैछौं – झलनाथ खनाल-Sutra News

केपी ओलीले एमसीसीका धेरै डकुमेन्ट लुकाए, अहिले खोज्दैछौं – झलनाथ खनाल

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले तत्कालीन केपी शर्मा ओलीको सरकारले अमेरिकी सहायता परियोजना (एमसीसी)सम्बन्धी कतिपय दस्तावेजहरू लुकाएको आरोप लगाएका छन् ।



आइतवार सत्ता गठबन्धनले एमसीसी अध्ययन गर्न गठन गरेको समितिका संयोजकसमेत रहेका खनालले सूत्रन्यूजसँग कुरा गर्दै ओली सरकारले कतिपय दस्तावेजहरू अध्ययन गर्नै नदिएको आरोप लगाएका हुन् ।

२०७६ माघमा बसेको तत्कालीन नेकपाको केन्द्रीय कमिटी बैठकले पनि एमसीसी अध्ययनका लागि खनालकै नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । त्यतिबेलाको सरकारले एमसीसी अधययनका लागि चाहिने पर्याप्त दस्तावेजहरू कार्यदललाई दिएको थिएन ।

त्यही प्रसंगलाई स्मरण गर्दै खनालले ओलीले दस्तावेजहरू लुकाएको बताएका हुन् । ‘त्यतिबेला हामीलाई ओली सरकारले सबै डकुमेन्ट दिएन, लुकायो,’ खनालले सूत्रन्यूजसँग भने, ‘अब ती सबै डकुमेन्टहरू खोज्छौं र सरकारलाई सुझाव दिन्छौं ।’

उनले नेपाल सरकार र अमेरिकी सरकारबीच भएका अन्य कतिपय सम्झौताहरू तत्कालीन ओली सरकारले लुकाएको तर सरकारी रेकर्डमा भने हुन सक्ने बताए ।

‘सरकारी रेकर्डमा ती डकुमेन्टहरू होलान्,’ खनालले भने, ‘पाइएका डकुमेन्टहरू हेरेर थप नयाँ धारणा बनाउने हो । नत्र त २०७७ को वैशाखमै हामीले तत्कालीन सरकारलाई प्रतिवेदन नै दिएका छौं । त्यही अनुसार अहिले पनि प्रतिवेदन बनाउँछौं ।’

आइतवार सर्वदलीय बैठकले खनालको नेतृत्वमा कांग्रेसबाट मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ रहेको एक समिति बनाएको थियो । समितिले केही दिनमा सरकारलाई सुझाव प्रतिवेदन दिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट