राष्ट्रबैंक र करसम्बन्धी नीति बाझिएकाले मर्जरमा जान ढिलो भयो – अशोक राणा, सीईओ, हिमालयन बैंक [अन्तर्वार्ता]-Sutra News

राष्ट्रबैंक र करसम्बन्धी नीति बाझिएकाले मर्जरमा जान ढिलो भयो – अशोक राणा, सीईओ, हिमालयन बैंक [अन्तर्वार्ता]

मंगलबार, ६ पौस २०७८

मंगलबार, ६ पौस २०७८

नेपालका दुई पुराना र ठूला बैंकहरू हिमालयन र इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया अघि बढेको छ । गत वर्षदेखि नै मर्जरको प्रक्रियामा रहेका यी दुई ठूला बैंकहरू आगामी वैशाखभित्र पूर्ण रूपमा मर्ज भइसक्ने बताइएको छ ।



मर्जर प्रक्रिया विविध कारणले ढिलो भएपछि दुवै बैंक केही साताअघि समय थपिदिन राष्ट्र बैंक पुगेका थिए । सुरुमा दिएको समय अपुग भएपछि समय थपिदिन दुवै बैंकले पत्र लेखेर राष्ट्र बैंकसमक्ष आग्रह गरेका छन् । हिमालयन बैंकका सीईओ अशोक राणाले आगामी वैशाखभित्र दुवै बैंकहरू पूर्ण रूपमा मर्ज भइसक्ने दाबी गरेका छन् ।

सूत्रन्यूजका लागि प्रबन्ध सम्पादक ईश्वर अर्यालसँग कुराकानी गर्दै राणाले यही पुसको अन्तिममा हिमालयन बैंकले वार्षिक साधारण सभा र इन्भेस्टमेन्ट बैंकले पनि विशेष साधारण सभा बोलाएको बताए । मर्ज प्रक्रियालाई अन्तिम रुप दिन दुवै बैंकले साधारणसभा बोलाएका हुन् ।

यससम्बन्धमा राणासँग गरिएको कुराकानीको सम्पादित अंश –

निकै पहिला नै मर्ज गरिसक्ने दाबीसहित अघि बढेका हिमालयन र इन्भेस्टमेन्ट बैंकहरूबीचको मर्जर प्रक्रिया यतिबेला कहाँ पुगेको छ ?

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर प्रक्रिया अघि बढिरहेको छ । हामीले एमओयु पनि साइन गरिसकेका छौं । साइन गरिसकेपछि के हुनेरहेछ भने, दुईवटै बैंकको सेयर ट्रेडिङ रोकिने रहेछ । दुवै बैंकहरूको मूल्यांकन गरेर हामीले स्वाप रेसियो निकाल्यौं । त्यो लगभग एउटै जस्तो अथवा त्यसको अनुपात १:१ भएको छ, त्यसको अर्थ दुवै बैंकको आर्थिक मूल्यांकन लगभग बराबरजस्तो देखिएको छ ।

त्यो अनुसार हामी अगाडि बढिरहेका छौं । हामी मर्ज हुने भनेर बोर्डले निर्णय गरिसकेको छ भने इन्भेस्टमेन्ट बैंकले पनि मर्ज गर्ने भनेर निर्णय गरिसकेको छ । हामीले वार्षिक साधारण सभा कुरिरहेका थियौं । मर्जर फाइनलाइज गरेपछि हामीहरूले तीन चारवटा अपरेटिङ म्यानुअलहरू स्वीकृत गर्नुपर्यो पहिलो हाम्रो आर्टिकल एसोसियसन अफ मेमोरेन्डम, दोस्रो महत्त्वपूर्ण डकुमेन्ट हाम्रो फाइनल एग्रीमेन्ट र अरू पनि । फाइनल एग्रीमेन्ट अहिले ड्राफ्टकै चरणमा छ । अब बोर्डले वार्षिक साधारणसभा भन्दा अगाडि त्यसलाई पास गर्छ । वार्षिक साधारण सभामा एउटा विशेष संकल्प र अन्तिम सम्झौतालाई साइन गरेपछि राष्ट्रबैंकले मर्जरको कार्यान्वयन स्वीकृति दिन्छ ।

मर्जरको एजेण्डा राखेर आगामी शुक्रवार हामीले एउटा डकुमेन्ट प्रकाशित गर्छौं । हाम्रो वार्षिक साधारणसभा जनवरीको १४ मा हुन्छ । त्यसपछि इन्भेस्टमेन्ट बैंकले पनि विशेष साधारण सभा गरेर त्यतिबेला नै मर्जरसम्बन्धी सबै डकुमेन्टहरू पास गर्छ । त्यसपछि हामी राष्ट्रबैंकमा अन्तिम स्वीकृति लिन जान्छौं ।

मर्जर प्रक्रियामा तपाईंहरूलाई परेको नीतिगत र व्यावहारिक अप्ठेरो केही छ ?

केही मुद्दाहरू आएका छन् । हाम्रो बैंकबीच त्यस्तो केही छैन तर बाहिरी कुरा केही छन् । करका बारेमा एउटा इस्यु छ । मर्ज गरेको संस्थामा दायीत्वहरूको अवस्था के छ भनेर हेरिएको छ । हामीले चाहिँ त्यसले हाम्रो मर्जरलाई खासै प्रभाव नपार्ला भनेर बुझेका छौं ।

करसम्बन्धी भन्नाले अलि विस्तृत बताइदिनुस न !

महालेखा परीक्षण कार्यालयले बैंकले इस्यु गरेका सेयरहरूमा ट्याक्स लाग्छ भनेको छ । सेयर प्रिमियर इस्यु गर्दा ट्याक्स लाग्छ भनेर एउटा कुरा गरेको छ । तर हामी राष्ट्र बैंकको निर्देशन अनुसार अघि बढेका छौं । जति पनि बैंकहरू मर्जरमा गएका छन्, र एफपीओ निकालेका छन्, सबै राष्ट्र बैंकको निर्देशनमा हुन्छ ।

हाम्रो मर्जरलाई राष्ट्र बैंकको निर्देशन र कर कार्यालयले चाहिँ फरक-फरक दृष्टिकोणले हेरेको अवस्था छ । हामीले पनि लिगल ओपिनियनहरू हेर्यौं । ट्याक्स लाग्यो भनेपनि पूर्वव्यापी (रेट्रोस्पेक्टिभ) हुँदैन बरू प्रस्पेक्टिभ हुन्छ भन्ने बुझेका छौं । लागिहाल्यो भने पनि अबदेखि लाग्छ, पुरानोदेखि लाग्दैन भनेर व्याख्या गरेर हामी अगाडि बढेका छौं ।

भनेपछि, राष्ट्रबैंकको नीति र करसम्बन्धी नीतिमा परेको फरकले तपाईंहरूलाई अलिकति अप्ठेरो पारेको छ, हैन त ?

हो, त्यसले केही इस्यु सिर्जना गरेको छ । मर्जरको काम अलिकति ढिलो पनि भएको छ ।

अन्य बैंक-बैंकबीचको व्यावहारिक समस्या चाहिँ समाधान भइसक्यो कि बाँकी छ ?

मर्ज गर्दा आउन सक्ने कर्मचारीहरूको समस्या पनि समाधान भैसक्यो । आइटीको प्ल्याटफर्म पनि हामीले छानिसकेका छौं । हाम्रो दुईवटा जोइन्ट मर्जर कमिटी छ । त्यसको चेयरमेन प्रधुम्न राजभण्डारी हुनुहुन्छ । हाम्रोबाट तीनजना मेम्बर र इन्भेस्टमेन्ट बैंकको तीनजना मेम्बर हुनुहुन्छ ।

धेरैजसो ग्राउण्ड वर्कहरू उहाँहरूले गरिसक्नु भएको छ । जस्तै हाम्रो आर्टिकल एसोसियसनको मेमोरेण्डमको ड्राफ्ट, हाम्रो फाइनल एग्रीमेन्टको ड्राफ्ट, स्टाफको व्यवस्थापन, मर्ज भइसकेपछिको विधान र प्रबन्ध पत्रहरू, हाम्रो क्रेडिट पोलिसी गाइड, फाइनान्सियल रूल, सबै हामीले एउटा नमूना ल्याएर अगाडि बढेका छौं ।

दुवै बैंकको मर्जर कहिलेसम्म सकिएला ?

हामीले साधारणसभा गरेपछि मर्जरको निर्णय लिएर राष्ट्रबैंक पुग्छौं । त्यसपछि राष्ट्र बैंकले फाइनल मर्जरको स्वीकृति दिन्छ । अनि त्यसको कार्यान्वयनमा हामी जान्छौं । हामी त्यसपछि कानूनी हिसाबले एउटै संस्था बन्छौं । हाम्रो जोइन्ट अपरेशन, जस्तै तथ्यांक सार्नुपर्यो । त्यो चाहिँ तीन महिना जति लाग्ला ।

त्यतिबेलासम्म हामी जोइन्ट अपरेशनमा जान्छौं, तर त्यो एकीकृत ब्यालेन्सशीट चाहिँ आर्थिक वर्षको तेस्रो चौथाईमा आउला ।

राष्ट्रबैंकले कहिलेसम्म तपाईंहरूलाई मर्ज गरिसक्न निर्देशन दिएको छ, अथवा उसको पोलिसीले के भन्छ ?

राष्ट्रबैंकले त ११ वर्ष भयो मर्ज गर्नुस् भन्न थालेको । अब कुर्दैन रे । असार मसान्तभित्र मर्जर गरे बैंकहरूले पाउने सुविधा त्यसपछि नपाउने भनेको छ । राष्ट्र बैंकले ज-जसलाई मर्ज गर्ने इच्छा छ, अहिले नै गर्नुस् भनेको छ । हामी त्यही अनुसार अघि बढेका हौँ ।

एउटा कुरा सोध्नै पर्छ तपाईंलाई, बैंकहरू मर्ज किन गरिन्छ ? एक्ला एक्लै चल्दा के बेफाइदा छ ?

बैंकहरू मर्ज हुने दुई कारण छ । एउटा, बैंकको नेचर अफ बिजनेस भनेको क्यापिटल साइज हो । जति क्यापिटल साइज धेरै भयो, उति बिजनेश गर्न सक्छ । हाम्रो देशमा पूर्वाधार फाइनान्स पनि गर्नुपर्यो । पहिला पहिला ग्राहकहरूलाई लोन प्रवाह गर्दा तीन करोडदेखि १ अर्बसम्म थियो । अहिले त ५ अर्बदेखि दश अर्बसम्म पनि दिनुपर्छ । हामी कि त सिन्डिकेटमा जानुपर्यो, कि त मैले मसँग यति मात्र छ, त्यो लैजाउ भन्नुपर्यो । क्षमतामा प्रश्न उठेपछि बैंकहरूको विश्वसनीयता पनि धेरै नहुने भयो ।

अर्को चाहिँ कस्ट अफ अपरेशन पनि धेरै भयो । हामीले आइटी प्ल्यातफर्म ठूलो साइजमा फैलाउन सक्यौं भने अलिकति कस्ट पनि बच्छ । नत्र अहिले इन्भेस्टमेन्ट बैंकले पनि आइटी प्ल्याटफर्म चलाइरहेको छ, हामीले अर्को चलाएका छौं । मर्ज गर्यो भने एउटा मात्र हुने भयो । हाम्रो रिच, स्केल मर्ज भएपछि बढ्छ । हामीले गर्ने खरिद प्रक्रियालाई पनि मर्जले फाइदा गर्छ ।

बैंक मर्ज गरिसकेपछि तपाईंहरूले आफ्नो ग्राहकलाई थप के दिनुहुन्छ ?

हामी डिजिटल बैंकिङलाई फोकस गर्ने प्लान बनाएका छौं ।  भनेपछि अहिले पनि हिमालय बैंकको मोबाइल एप बाट युटिलिटी पेमेन्ट गर्न सक्छौं । कार्डहरू म्यानेज गर्न सक्नुहुन्छ । पेमेन्ट प्ल्याटफर्म सजिलो हुन्छ, बैंकमा आउनु पर्दैन । बिस्तारै हामीले लोन एप्लिकेसन पनि अनलाइन गर्छौं । एकाउन्ट ओपनिङ पनि अनलाइन गर्छौं । अपरेशन स्केल बढेपछि भएपछि डिजिटल बैंकिङमा हामीले थप काम गर्छौं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट