देउवाले यसो भनेपछि प्रचण्ड र नेपाल ढुक्क-Sutra News

देउवाले यसो भनेपछि प्रचण्ड र नेपाल ढुक्क

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा नटुट्ने भनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ढुक्क हुन आश्वासन दिएका छन् ।



प्रचण्डनिकट स्रोतका अनुसार देउवाले बाहिर जे जस्तो भनिएपनि गठबन्धन चुनावसम्म नै जाने भन्दै आफूले गठबन्धन तोड्ने खालको कुनै निर्णय नगर्ने आश्वासन दिएका हुन् ।

‘प्रधानमन्त्रीले गठबन्धन तोडिने खालको कुनै क्रियाकलाप आफूबाट नहुने बताउनु भएको छ,’ स्रोतले भन्यो, ‘एमसीसीमा अलिकति विचार फरक परेको मात्र हो । राष्ट्रिय चासोको विषयलाई सम्बोधन गरेर अघि बढ्न अध्यक्ष प्रचण्ड तयार हुनुहुन्छ ।’

कांग्रेसको दोस्रो कार्यकालका लागि सभापति चुनिएपछि देउवाले एमसीसी छिटै अघि बढाउन पहल गरेका थिए । पहलस्वरूप देउवाले पहिला सत्ता गठबन्धनको बैठक बोलाए । गत आइतवार बोलाइएको बैठकमा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय एमसीसी अध्ययन र सुझाव समिति गठन समेत गरिएको छ ।

देउवाले सोही समितिले दिएको सुझावका आधारमा अघि बढ्ने बताएका हुन् । उनले प्रचण्ड र नेपाल दुवैलाई छुट्टाछुट्टै फोन गरेर गठबन्धनविरोधी शक्तिले चलाएको प्रोपोगाण्डामा विश्वास नगर्न आग्रह गरेका हुन् ।

‘तत्काल गठबन्धन भत्काएर ओलीसँग साझेदारी गर्ने कुरा हुँदैन,’ देउवानिकट एक नेताले भने, ‘चुनावसम्म गठबन्धन कायमै रहन्छ । एमालेले सत्ता गठबन्धन टुटाउन हरसम्भव प्रयास गरिरहेको छ, त्यसैका आधारमा प्रोपोगाण्डा पनि फ़ैल्याइएको छ । तर सभापति देउवा अहिल्यै एक्ला-एक्लै हिंड्ने मनस्थितिमा हुनुहुन्न ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट