माओवादी राष्ट्रिय सम्मेलन : १५ सय प्रतिनिधि, तामझाम नगरिने, बाह्य अतिथि नबोलाइने-Sutra News

माओवादी राष्ट्रिय सम्मेलन : १५ सय प्रतिनिधि, तामझाम नगरिने, बाह्य अतिथि नबोलाइने

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

नेकपा माओवादी केन्द्रले पुस ११ देखि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । सम्मेलनका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने क्रममा प्रवक्ता कृष्णबहादुर महराले १५ सयको हाराहारीमा प्रतिनिधि आउने बताए ।



उनले अन्य दल र विदेशीहरूलाई पाहुनाका रूपमा नबोलाइने जानकारीसमेत दिए । सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ थियो ।

महराले राष्ट्रिय सम्मेलन र महाधिवेशन फरक विषय भएकाले यसलाई महाधिवेशनका रूपमा बुझ्न नहुने बताए ।

‘यो महाधिवेशन होइन, राष्ट्रिय सम्मेलन हो,’ महराले भने, ‘यसमा दुईवटा विषयमा छलफल हुन्छ । नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण मुख्य दायीत्व हो । क्रान्तिकारी विचार निर्माण र नयाँ पार्टी बनाउने हाम्रो प्रयास रहन्छ ।’

महराले सम्मेलनमा कुनै तामझाम नगरिने बताए । ‘अहिले तामझाम गर्ने स्थिति पनि छैन,’ उनले भने, ‘केही प्रचारात्मक कामहरू हुन्छन् । गेट बनाउने, ब्यानर टाँस्ने । त्यो काम भइरहेको छ ।’

उनका अनुसार सम्मेलनमा प्रदेशहरूबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३, आयोजकमध्ये १७९, सल्लाहकारमध्ये १४९, जेष्ठ कम्युनिट मंचबाट १२५, आयोगहरूबाट ७५, केन्द्रीय विभागबाट १०२ जना, केन्द्रमा ल्याउनुपर्ने नेताहरूबाट २७ र बाँकी ५ प्रतिशत मनोनयन गर्ने र प्रतिनिधिको जम्मा संख्या १५ सय ३३ हुनेछन् ।

महराले आगामी राष्ट्रिय सम्मेलनमा संसदीय अभ्यासमा भोगेका कुराहरूलाई गम्भीर समीक्षा गरिने बताए । ‘विश्व साम्राज्यवादले फेरेको नयाँ नयाँ रुप र आफ्नो साम्राज्य कसरी कायम राख्ने भन्ने हिसाबले नयाँ विकास भइरहेको छ, हामीले त्यो भोगेका छौं,’ उनले भने, ‘त्यसको समीक्षा गर्छौं । संसदीय अभ्यासमा भोगेका कुराहरूलाई गम्भीर समीक्षा गर्छौं ।’

महराले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दस्तावेज आउने र त्यसैमाथि छलफल हुने बताए । ‘व्यवस्थित रूपले डकुमेन्ट आएपछि मात्र भन्न सकिन्छ, कतै हामीले क्रान्तिकारी बाटोमा अवरोधसँग लड्ने सन्दर्भमा केही गल्ती गर्यौं कि  ? अध्यक्ष कमरेडले दस्तावेज ल्याउनुहुन्छ, हामी त्यसमा छलफल गरेर निष्कर्षमा पुग्छौं,’ महराले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट