ललिता निवास प्रकरणः धरौटीमा नछुट्ने भएपछि फरार रहेका सुवेदी दम्पती पक्राउ-Sutra News

ललिता निवास प्रकरणः धरौटीमा नछुट्ने भएपछि फरार रहेका सुवेदी दम्पती पक्राउ

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी मानिएका रामकुमार सुवेदीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोग लागेका सुवेदीसहित र उनकी पत्नी माधवीलाई पनि पक्राउ गरिएको हो ।



मंगलबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ ।

डीआईजी एवं सीआईबी प्रमुख धिरजप्रताप सिंहले सुवेदी दम्पति पक्राउ परेको र म्याद थपका लागि अदालतमा पेश गरेको जनाएका छन् । उनले भने– ‘उहाँहरु लगायतमाथि सरकारी कागजात कीर्ते गरेको आरोपमा छानविन चलिरहेको छ, अनुसन्धानका क्रममा हामीले पक्राउ गरेका हौं । थप विवरण अनुसन्धानपछि खुल्दै जाला ।’

मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

नक्कली कागजातका भरमा सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराएको र नक्कली मोही खडा गरेर जग्गा हत्याएको आरोपमा सुवेदीलाई सीआईबीले पक्राउ गरेको हो । उनीसँगै योजनाकार मानिएका शोभाकान्त ढकाल भने विशेष अदालतको आदेशका कारण थुनामा छन् ।

सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भएपछि अदालतमा हाजिर नभएका उनी लुक्दै हिडेका थिए ।

शोभाकान्त ढकाल विशेष अदालतमा हाजिर भएपछि आफू समेत हाजिर हुने र धरौटीमा छुट्ने योजनामा रहेका उनी ढकालको थुना अवधि लम्बिएपछि अदालतमा हाजिर भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट