नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका चौथो दिन आज बुधबार उच्च अंकको वृद्धि भएको छ । मंगलबार ५६.७३ बढेर दुई हजार चार सय १५ दशमलब ५५ विन्दुमा पुगेका नेप्सेमा आज पनि उच्च अंकको वृद्धि भएको हो ।
आज नेप्से ९२.१६ बढेर दुई हजार पाँच सय ७ दशमलब ७० विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज ४ अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको छ । मंगलबार दुई अर्ब ३८ करोड ३२ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज १० कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, शिवम् सिमेन्ट, स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्स, आइएसडीसी लघुवित्त, हिमालयन डिष्ट्रिलर, हिमाल दोलखा हाइड्रोपावर, युनियन इन्स्योरेन्स रहेको छ । यी सबै कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेको छ ।
त्यस्तै, आज नबिल डिबेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ६८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।