कसले चोर्यो बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामेरा ?-Sutra News

कसले चोर्यो बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामेरा ?

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।



निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न स्थानमा राखिएका पाँच वटा क्यामेरा चोरी भएका हुन् । बाघ सर्वेक्षणका लागि राखिएको क्यामेरामध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चार तथा चितवनमा एउटा क्यामेरा चोरी भएको निकुञ्जले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नवलपरासीको कावासोतीमा चार वटा क्यामेरा तथा चितवनको कालिका नगरपालिका क्षेत्रबाट एउटा क्यामेरा हराएको जानकारी दिए ।

बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम क्षेत्रमा स्वचालित ट्र्यापिङ क्यामेरा राखेको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन वटा क्लस्टरमा विभाजन गरेर पहिलो क्लस्टरमा पर्ने निकुञ्जको मुख्यालय कसरादेखि पश्चिमतर्फ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीसम्मको क्षेत्रमा बाघ सर्वेक्षणको काम भइरहेको छ । आचार्यले बाघ सर्वेक्षणका लागि निकुञ्ज, मध्यवर्ती, सामुदायिक वन र राष्ट्रिय वनलाई ग्रिड बनाएर क्यामेरा राखिएको जानकारी दिए ।

बाघ सर्वेक्षणका लागि निकुञ्जले जमिनबाट ४५ सेन्टिमिटरदेखि ६० सेन्टिमिटरको उचाइमा क्यामेरा राखेको छ । बाघ सर्वेक्षणका लागि राखिएको स्थानमा एउटै बाघलाई दुई वटा क्यामेराले खिच्ने गरी बाटोबाट दुवैतर्फ राखिएको छ । बाघको ढाडमा हुने पाटाको आधारमा बाघको गणना गरिने प्रमुख संरक्षण अधिकृत आचार्यले बताए ।

चितवन–पर्सा कम्प्लेक्समा बाघ सर्वेक्षणका लागि करिब तीन महिना समय लाग्ने उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत आचार्यले अहिले १३ स्थानमा क्याम्प राखेर बाघ सर्वेक्षणको काम भइरहेको जानकारी दिए । एउटा क्याम्पसमा गणक र प्राविधिकसहित आठ जनाको टोली परिचालन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो बाघ सर्वेक्षणको नजितानुसार ९३ वटा बाघ छन् ।

नेपालले सन् २०१० मा रुसको सेन्ट पिटसबर्गमा भएको बाघ पाइने देशहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा बाघको सङ्ख्या २५० पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । सन् २०१८ मा भएको बाघ सर्वेक्षणअनुसार नेपालमा बाघको सङ्ख्या २३५ वटा पुगिसकेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट