क्यानका ६ केन्द्रीय सदस्यद्वारा खेलाडीमाथिको कारबाही फिर्ता लिन आग्रह (विज्ञप्तिसहित)-Sutra News

क्यानका ६ केन्द्रीय सदस्यद्वारा खेलाडीमाथिको कारबाही फिर्ता लिन आग्रह (विज्ञप्तिसहित)

बुधबार, ७ पौस २०७८

बुधबार, ७ पौस २०७८

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका छन् ।



आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आग्रह गरेका हुन् ।

बैठकमा क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामा (राखेप प्रतिनिधि) ले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका हुन् ।

यस्तो छ, प्रेस विज्ञप्ति
एसोसिएट राष्ट्रको रुपमा नेपाली क्रिकेटले एकपछि अर्को फड्को मार्दै गर्दा अभिभावकीय भूमिकामा रहने नेपाल क्रिकेट संघ (क्यान)ले पछिल्ला दशकमा व्यहोर्नु परेको आरोह अवरोहबारे हामी सबै जानकार छौँ। वि.स. २०७३ वैशाखमा नेपाल क्रिकेट संघ निलम्बनमा परेकोमा हामी सबैको अथक प्रयास र अन्तर्राष्ट्रिय जिल्ला प्रदेशहरुको एकजुटको भावनाको कारणले २०७६ आश्विन ११ गते क्रिकेट परिषद (आईसीसी) को रोहवरमा केन्द्रीय कार्यसमितिको निर्वाचन भयो ।

निर्वाचनबाट नेपाल क्रिकेट संघको नयाँ नेतृत्व चयन गर्दै गर्दा नेपाली क्रिकेट समर्थक तथा खेलप्रेमीहरुमा अब नेपाली क्रिकेटको विकासले गति लिन्छ, निलम्बन पूर्णरुपमा फुकुवा हुन्छ भन्ने विश्वास जागेको थियो।

तर सवा दुई वर्षको अवधिमा आईसीसीबाटट पूर्ण निलम्बन फुकुवा हुने वातावरण बनाउन त सकेनौँ नै, आफ्नो मेहेनत, परिश्रम र टिम भावनाका साथ नेपाललाई एक दिवसीय मान्यता दिलाउन महत्वपूर्ण योगदान गरेका क्रिकेट खेलाडीहरुलाई सम्मानको बदला अनुशासनको नाममा नेतृत्वकर्ताले जुन किसिमका नियोजित कारबाही गरिएको छ, यसको हामी घोर भत्सना गर्दछौँ।

विडम्बना छ, अनुशासन समिति गठन हुँदाहुँदै सो समितिलाई कार्य गर्न नदिनु, एक्कासी संयोजकलाई हटाउनु, छानबिन समितिको नाममा निर्णयकर्ता नै संयोजक भएर बस्नुले नै स्वतन्त्र छानबिन हुने कुरालाई शंकाको घेरामा पुर्याउँछ। छानबिन प्रतिवेदन हामी बोर्ड सदस्यहरुलाई समेत जानकारी नगराउनु र हाम्रो असहमतिका बाबजुद खेलाडीहरुको भविष्यमाथि खेलवाड हुने गरी कारबाही गरिनुले नेपाली क्रिकेटलाई कहाँ पुर्याउन खोजिएको हो भन्ने गम्भीर प्रश्न उठेको छ।

मिति २०७८ साल असोज २० र २१ गते बोर्ड बैठकमा एक्कासी खेलाडीहरुको ग्रेडिङको मापदण्ड र त्यसअनुसार ग्रेडिङको प्रस्ताव ल्याइयो, त्यसबेला नै हामीले कप्तान लगायतसँग परामर्श गर्नुपर्छ भन्ने हाम्रो मत राखेका थियौं। विगतमा पनि ग्रेडिङका क्रममा संघको तर्फबाट त्रुटि भएकाले अब त्यस्तो नहोस् भन्ने चाहेका थियौं। तर नेतृत्वले हाम्रो आवाजलाई सुन्न चाहेन, बुझ्न चाहेन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट