यी हुन् धेरै माइलेज दिने पाँच कार, तपाईलाई कुन मन पर्छ ?-Sutra News

यी हुन् धेरै माइलेज दिने पाँच कार, तपाईलाई कुन मन पर्छ ?

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

पेट्रोलको मूल्य बढ्न थालेको एक वर्षभन्दा धेरै समय भएको छ । बढ्दो पेट्रोलको मूल्य र विद्युतीय सवारी साधनमा कम कर भएकै कारण नेपालमा विद्युतीय गाडी प्रति आम मानिसको चासो बढ्दै गएको छ ।



विद्युतीय गाडीको माग बढेको भएपनि धेरै छनोट र राम्रो सप्लाई नहुँदा धेरै मानिसले वाध्यताले पनि कम्बस्चन इन्जिन भएका गाडी किन्नु पर्ने अवस्था छ । यस्तोमा धेरै माइलेज प्रदान गर्ने गाडी धेरै उपभोक्ताको रोजाईमा पर्नु स्वभाविक हो ।

सन् २०२१ मा आएका अधिकांश कम्पनीका नयाँ गाडी धेरै माइजको कारण चर्चामा रहेका छन् । विशेषत भारतमा अहिले पनि इभीको प्रयोग नगन्य रहेको र पेट्रोलियम पदार्थबाट चल्ने गाडीको माग उच्च भएका कारण धेरै माइलेज दिने गाडीको खोजी भइरहेको छ ।

गाडी निर्माताले पनि सानो इन्जिन र उच्च पावरलाई प्राथमिकतामा राखेर उत्पादन गरिरहेको कारण अधिकांश मोडलले धेरै माइलेज प्रदान गर्दै आएका छन् । स्कोडा, फक्सवागेन, मारुती सुजुकी, टाटा, रेनो, निसान र हुन्डाईले बजारमा ल्याएका नयाँ गाडीले उच्च माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ ।

यी धेरै माइलेज दिने भनिएका अधिकांश कार नेपाल आइसकेका छन् भने केही कार नेपाल आउने क्रममा रहेका छन् ।

मारुती सुजुकी सेलेरियो: २६.६८ किमी प्रतिलिटर

नयाँ जेनेरेशन सेलेरियो सर्वाधिक माइलेजको कारण चर्चामा रहेको मोडल हो । नयाँ डिजाइन र थप फिचरसहित बजारमा आएको सेलेरियो माघबाट विक्री सुरु हुँदैछ । सेलेरियोले प्रतिलिटर २६.६८ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

नयाँ टेक्नलोजीमा आधारित १.० लिटर क्षमताको डिउल जेट के१० थ्रि सिलिण्डर पेट्रोल इन्जिन यसमा दिएको छ । उक्त इन्जिनले ६७ हर्स पावर तथा ८९ एनएम टर्क जेनेरेट गर्छ ।

रेनो काइगर: १९.१७ किमी प्रतिलिटर 

फ्रेन्च ब्राण्ड रेनोले भारतीय बजारलाई मध्यनजर गर्दै बनाएको पहिलो सब फोर मिटर एसयूभी काइगर दुई वटा इन्जिन अप्सनमा उपलब्ध रहेको छ । यो कारमा १.० लिटर नेचुरल्ली यस्पीरेटेड र १.० लिटरको टर्बो इन्जिन दिइएको छ । यो कारको नेचुरल्ली यस्पीरेटेड इन्जिनले ७२ हर्स पावर र ९६ एनएम टर्क साथै टर्बो इन्जिनको १०० हर्स पावर र १५२ एनएम टर्क प्रदान गर्छ ।

कम्पनीको नयाँ सीएमएफ एप्लस प्ल्याटफर्ममा बनेको यो कारको म्यानुयल टर्बो सबैभन्दा धेरै माइलेज दिन्छ । यसको माइलेज २०.५३ किमी प्रतिलिटर तथा नेचुरल्ली यस्पीरेटेड म्यानुयल भेरियन्टको १९.१७ किमी प्रतिलिटर रहेको छ । निसान म्याग्नाइटको पनि समान माइलेज रहेको छ । यी दुबै कार नेपालमा विक्री वितरण हुँदै आएको छ ।

हुन्डाई आई२०: २०.२५ किमी प्रतिलिटर

भारतमा अघिल्लो वर्ष र नेपालमा यस वर्षबाट विक्री सुरु भएको हुन्डाई आई २० पनि धेरै माइलेज दिने कारमा पर्छ । भारतमा यो वर्ष लन्च भएको स्पोर्टी तथा स्पेसियस हुन्डाईको आई २० एनलाईनमा १.० लिटरको टर्बो इन्जिन रहेको छ । उक्त इन्जिनले १२० हर्सपावर तथा १७२ एनएम टर्क जेनेरेट गर्छ ।

अटोमेटिक डिसीटी गियर भएको एनलाईन आई २० ले २०.२५ किमी प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ । नेपाली बजारमा हुन्डाई आई २० एनलाईन अहिले उपलब्ध छैन ।

टाटा पन्च: १८.९७ किमी प्रतिलिटर

टाटा मोटर्सको पहिलो माइक्रो एसयूभी पन्चले बजारमा धेरै अर्थमा पन्च दिन सफल भएको छ । सुरक्षाका लागि ग्लोबल एनक्यापमा रेटिङमा फाइभ स्टार रेटिङ पाएको पन्च माइलेजको लागि पनि उत्कृष्ट रहेको छ ।

जनवरी २०२२ मा नेपाल ल्याउने तयारी भइरहेको यो कारमा १.२ लिटर क्षमताको थ्रि सिलिण्डर पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले ८६ हर्सपावर तथा ११३ एनएम टर्क उत्पादन गर्छ । यो कारको म्यानुयल भेरियन्टले १८.९७ किमी प्रतिलिटर र एएमटी भेरियन्टले १८.८२ किमी प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।

फक्सवागेन टाइगुन: १८.१ किमी प्रतिलिटर

फक्सवागेनको टाइगुन यो वर्ष लन्च भएको उत्कृष्ट मिडसाइज एसयूभी हो । आकर्षक डिजाइन तथा अत्याधुनिक फिचर लोडेड यो कार सानो इन्जिन भएता पनि पावरको लागि प्रख्यात रहेको छ । यही इन्जिनमा रहेको स्कोडा कुशकले पनि नेपालमा राम्रो व्यापार गर्न सफल भएको छ ।

यी दुबै गाडीमा समान १.० लिटर टिएसआई टर्बो इन्जिन रहेको छ । उक्त इन्जिनले ११५ हर्सपावर र १७८ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा रहेको १.० इन्जिनले १८.१ किमी प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ ।

-मेरोअटो डट कमबाट 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट