प्रदेश २ को चारवटा नामबारेको प्रस्ताव पेस, पास गर्न कति चाहिन्छ सांसद ?-Sutra News

प्रदेश २ को चारवटा नामबारेको प्रस्ताव पेस, पास गर्न कति चाहिन्छ सांसद ?

बिहिबार, ८ पौस २०७८

बिहिबार, ८ पौस २०७८

प्रदेश २ को नामाकरणका लागि चारवटा नाम प्रस्ताव गरिएका छन् ।



बिहीबार बसेको  प्रदेशसभा बैठकमा प्रदेशका नामकरणका लागि चारवटा प्रस्ताव पेस भएका हुन् । जसमा ‘मधेस प्रदेश’, ‘जानकी’,  ‘मध्यमधेस’ र ‘मिथिला भोजपुरा’रहेका छन् ।

बिहीबारको बैठकमा जनता समाजवादी पार्टी (जसपा) का शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका अध्यक्ष भरत साहले मधेश प्रदेश नाम प्रस्ताव गरेका थिए। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद रानी तिवारीले सो नाममा समर्थन गरेकी थिइन्।

नेकपा एकीकृत समाजवादीले भने जानकी प्रदेश प्रस्ताव गरेको छ । कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले भने जानकी प्रदेश प्रस्ताव गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले मिथिला भोजपुरा नाम प्रस्ताव गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्यमधेश नाम प्रस्ताव गरेका छन् ।

संविधानको धारा २९५ (२) अनुसार प्रदेश सभाको दुई तिहाइ बहुमतले प्रदेशको नामाकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

१०४ सदस्यीय प्रदेशसभामा जनता समाजवादी पार्टीका ३९, नेपाली कांग्रेस १९, लोकतान्त्रिक समाजवादी पार्टीका १६ र माओवादी केन्द्रका ८ सांसद छन् । एकीकृत समाजवादीका १३ सांसद रहेका छन् ।  प्रदेशसभाबाट नाम पारित हुन प्रदेशसभाको दुई तिहाइ अर्थात ६९ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका ८ जना प्रदेश सांसदमध्ये एकजना पनि उपस्थित नभएकाले सो दलबाट नामको प्रस्ताव आज पेस हुन सकेन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट