सप्तकोसी डेभलपमेन्ट बैंकमा १६ करोड हिनामिना, एक कर्मचारी पक्राउ-Sutra News

सप्तकोसी डेभलपमेन्ट बैंकमा १६ करोड हिनामिना, एक कर्मचारी पक्राउ

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । राष्ट्र बैंकले पत्राचार गरेपछि मात्र थहा पाएको सञ्चालक समितका अध्यक्ष डा.अर्जुन बरालले बताए ।

अहिले प्रहरी, सीआईबी र नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेकोले छानबिनपछि मात्र वास्तविक्ता बाहिर ल्याउन सकिने उनले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बैंकमा ठगी भएको उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए ।

नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरीवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका भट्टराईले २०७१ सालदेखि बैंकको रेमिटेन्सतर्फ जिएसडि प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रमुख भट्टराई, बैंकका सिईओ नविन सुवेदीका फुपूका छोरा हुन् । बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई समेत हटाएको थियो ।

१ मंसिरदेखि सञ्चालक बराललाई अध्यक्षको जिम्मेबारी दिइएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । बैंकको प्रदेश १ भरिमा ३६ वटा शाखा कार्यालय छन् । बैंकको चार अर्ब ३० करोड निक्षेप छ । काबेली विकास बैक र सप्तकोसीबीच मर्ज भएको थियो ।

सञ्चालक समितिका निर्वमान अध्यक्ष निरौला एमालेका नेतासमेत हुन । उनी विराटनगर महानगरपालिकाका कर्मचारीसमेत हुन् । बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडल मेयर भएको समयमा खाद्यविज्ञका रुपमा उनलाई जागिर दिएको थियो । पछि उनी विराटनगरमा सरुवा भएर आएका थिए ।

बैंकको अध्यक्ष बरालले बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा धरापमा नपर्ने बताए । उनले आर्थिक हिनामिनाले तत्काल बैंकको नाफा घट्ने तर पछि कर्मचारीबाट असुल उपर गरेपछि त्यो परिपूर्ति हुने दाबीसमेत गरे । उनले आन्तरिक छानविन समेत गरीरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट