ओलीप्रति प्रचण्डको कटाक्षः आगोसँग खेल्दा बालुवाटारबाट बालकोट-Sutra News

ओलीप्रति प्रचण्डको कटाक्षः आगोसँग खेल्दा बालुवाटारबाट बालकोट

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कटाक्ष गर्दै आगोसँग खेल्दा बालुवाटारबाट बालकोट पुग्नु परेको टिप्पणी गरेका छन् । नेकपा मसाल सम्पर्क केन्द्रसँग पार्टी एकता घोषणा कार्यक्रममा प्रचण्डले आफूले संसदमा बोल्दा आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेर चेतावनी दिएको स्मरण गर्दै आगोसँग खेल्दा ओली बालुवाटारबाट बालकोट पुग्नु परेको टिप्पणी गरेका हुन् ।



उनले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भर्‍याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको बताए । प्रचण्डले अब कसको हालत के हुन्छ भन्ने आउने निर्वाचनमा देखिने बताएका छन् ।

एमालेतिर संकेत गर्दै प्रचण्डले अवसरवादीहरु पार्टी प्रवेशका नाममा गाउँगाउँमा केही मान्छेको सिला खोज्दै हिँडेको बताए । उनले अघि भने, ‘सुनारको सय चोट, लोहारको एकै चोट भन्छन् । आज हामीले लोहारको एकै चोट हान्यौं ।’

नेकपा मसाल सम्पर्क केन्द्रसँग गरेको पार्टी एकता गणतीय मात्र नभई ज्यामितिय हुने उनको तर्क छ । अहिले माओवादीको संगठन सदस्य ८ लाख बढी रहेको भन्दै प्रचण्डले भने, ‘अब यो १० लाखभन्दा बढी भएर अगाडि बढ्छ ।’

प्रचण्डले नेकपा मसाल र आफूहरु मूलभूत रुपमा एउटै स्कुलका विद्यार्थी भएकाले एकता दिगो हुने दावी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट