पीएम कप सुदूरपश्चिम छनौट : खेल तालिका सार्वजनिक-Sutra News

पीएम कप सुदूरपश्चिम छनौट : खेल तालिका सार्वजनिक

शुक्रबार, ९ पौस २०७८

शुक्रबार, ९ पौस २०७८

प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको खेल तालिका सार्वजनिक गरिएको छ ।



शुक्रबार सार्वजनिक खेल तालिकाअनुसार छनौट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा सुरु हुने भएको हो ।  सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  समूह ‘ए’मा अछाम, डडेल्धुरा, कञ्चनपुर र दार्चुला छन् । यस्तै समूह बी मा बैतडी, कैलाली, बझाङ र डोटी छन् ।

प्रतियोगिता अन्तर्गत पुस १४ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा भिड्दा दोस्रो खेलमा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ ।  पुस १५ गते अछाम र डडेल्धुरा प्रतिस्पर्धा गर्दा अर्को खेलमा कञ्चनपुर र दार्चुला भिड्नेछन् । पुस १६ गते पहिलो खेलमा दार्चुला  र डडेल्धुरा आमनेसामने हुँदा दोस्रोमा कञ्चनपुर र अछामबीच खेल हुनेछ । पुस १७ गते बैतडी र डोटी भिड्दा अर्को खेलमा कैलाली र बझाङ प्रतिस्पर्धा गर्ने  सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

यसका साथै पुस १८ गते पहिलो खेलमा कैलाली र डोटी भिड्दा दोस्रोमा बैतडी र बझाङ आमनेसामने हुनेछन् । पुस १९ गते कैलाली र बैतडीबीच भिडन्त हुँदा दोस्रोमा बझाङ र डोटी मैदानमा उत्रनेछन् ।

सहभागीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २० गते फाइनल भिडन्त हुने जनाइएको छ । प्रदेशस्तरिय छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।  नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौँमा हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट