माओवादी पार्टी अमेरिकी अनुदान सम्झौताप्रति नरम होला कि कडा ?-Sutra News

माओवादी पार्टी अमेरिकी अनुदान सम्झौताप्रति नरम होला कि कडा ?

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत् नेपाललाई प्राप्त हुने भनिएको झन्डै ६० अर्ब रुपैयाँ स्वीकार गर्न हुने या नहुनेबारे खुलेर बहस हुने नेताहरूले बताएका छन्।



शेरबहादुर देउवा नेतृत्वको सरकारको प्रमुख घटक माओवादी केन्द्रमा एमसीसीलाई लिएर गहिरो मतभेद छ र पार्टीका कैयौँ नेताहरूले नेपाल र अमेरिकी पक्षबीच भएको मूल सम्झौतालाई बिनासंशोधन अनुमोदन गर्न नसकिने बताइरहेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौताबारे सार्वजनिक टिप्पणी गर्दै विभिन्न दल, बौद्धिक समुदाय र नागरिक समाजसँग छलफल गरेर एउटा टुङ्गोमा पुगिने धारणा राखेका छन्।

नेपालमा विद्युत् प्रसारण लाइन र सडक सञ्जालको निर्माणका लागि सहयोग गर्ने उद्देश्य राखेको उक्त सम्झौतामा नेपाल र अमेरिकाका अधिकारीहरूले सन् २०१७ मा हस्ताक्षर गरेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को जारी अधिवेशनबाटै आफूले एमसीसी पारित गराउन चाहेको सङ्केत गरेका छन्।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा एमसीसीको विषय कसरी उठ्ला?

एमसीसीबारे सहमति जुटाउने उद्देश्यले यसै साता मात्रा गठबन्धनका दलहरू सम्मिलित कार्यदल बनाइएको छ।

उक्त कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले माओवादीको शुक्रवार बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले सङ्क्षिप्त रूपमा एमसीसीको चर्चा गरे पनि दस्तावेजमा त्यो कसरी आउँछ प्रष्ट नभएको बताए।

के भन्छन् प्रचण्ड ?

राजधानीमा शनिवार आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पूर्वाधार निर्माणमा मित्र देशहरूबाट प्राप्त सहयोग नलिने भन्ने नीति नरहेको भन्दै एमसीसी सम्झौताबारे विभिन्न दल, बौद्धिक समुदाय र नागरिक समाजसँग छलफल गरेर एउटा टुङ्गोमा पुगिने धारणा राखेका छन्।

“एमसीसीको विषयमा जे प्रश्न उठ्यो। त्यो पनि मूल सहमति र पछि ओली प्रधानमन्त्री भएर अर्थमन्त्री युवराज (खतिवडा)जी भएको बेला जे सम्झौता गरिएको छ भनिएको छ त्यसले शङ्का उत्पन्न गराइदिएको छ। अनि मानिसहरूले गहिरो अध्ययन गर्दा मूल सहमतिमा नै पनि केही विषयहरू अस्पष्ट रछन् भन्ने भएको छ,” उनले भने।

“त्यसकारण मैले यो विषयमा गठबन्धनभित्र र सर्वदलीय बैठक छलफल गर्न जरुरी छ भनेर हाम्रो पार्टीका तर्फबाट प्रधानमन्त्रीज्यूलाई भनेको छु।”

उनले प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा विपक्षी दलका नेता नआउनु दुर्भाग्यपूर्ण भएको भन्दै आफूले प्रधानमन्त्री देउवालाई संयुक्त रूपमा बालकोट गएर ओलीसँग एमसीसी र संसद् अवरोधजस्ता विषयमा कुराकानी गर्न प्रस्ताव गरेको खुलाए।

पार्टीको सम्मेलन सकिएपछि आफूले उक्त संवादका लागि पुनः पहल गर्ने प्रचण्डको भनाइ थियो।

अमेरिका हेर्ने माओवादीको दृष्टिकोण कस्तो?

माओवादीको सेनाका काम गरेका तथा अहिले योङ्ग कम्युनिस्ट लीगका सचिव नवराज ढुङ्गानाले एमसीसीको विषय राष्ट्रिय सम्मेलनमा “मज्जाले उठ्ने” बताए।

उनी भन्छन्, “अमेरिकाजस्तो साम्राज्यवादी मुलुकले हाम्रो जस्तो देशलाई केही स्वार्थ भएर मात्रै अनुदान दिने हो। योजनाबद्ध ढङ्गले खराब नियत राखेर सहयोग दिइएको हो भने त्यसलाई हामीले स्वीकार्नु हुँदैन।”

उनले थपे, “कि त यो एमसीसी अनुदान हाम्रो देशको अनुकूलतामा हुनुपर्‍यो कि हाम्रो संविधान र कानुनको मातहतमा आउनुपर्‍यो। त्यसो भयो भने त्यो स्वीकार्य हुन्छ। अमेरिकाले जेजे भनेको छ त्यसमा नेपालले सहीछाप गर्ने हुन सक्दैन। यसमा परिवर्तन हुनुपर्छ।” बीबीसी

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट