उद्योगले किन्न थाले उखु-Sutra News

उद्योगले किन्न थाले उखु

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

सिरहाको हिमालय सुगर मिल्सले ५ सय ८४ रुपैयाँमा उखु खरिद थालेको छ। सरकारले मूल्य निर्धारण नगर्दासम्म अलमलमा परेका किसानको उखु मिल्सले किन्न थालेको हो।



सरकार, चिनी उद्योगी र किसान प्रतिनिधिबीच सहमति हुन नसक्दा मूल्य निर्धारण हुन सकेको छैन। ‘तत्काल लागि न्यूनतम मूल्यमै किनिदिएका हौं,’ हिमालय सुगर मिल्सका महाप्रबन्धक अवधकिशोर यादवले भने, ‘पछि जति मूल्य तोकिन्छ, सोहीअनुसार भुक्तानि दिन्छौं।’

अहिले उखु काट्ने सिजन हो। खेतबाट उखु निकालेर किसानहरूले तेलहन र दलहन बाली लगाउँछन्। यता उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली सरकारले मूल्य नतोक्दा चिनी उद्योगले आफू अनुकुल उखु खरिद गरीरहेको बताए। ‘सरकार र उद्योगीको मिलोमतोले किसान सधैं मारमा परेका छन्,’ मैनालीले भने, ‘कहिल्यै उचित मूल्य दिँदैनन्।’ सरकारले तोकेकै मूल्य पनि चिनी उद्योगले सहज रूपमा नदिने उनी बताउँछन्। ‘भुक्तानीका लागि हरेक वर्ष किसानले आन्दोलन गर्नुपरेको छ,’ उनले थपे, ‘सरकारले उखुलाई नगदेबालीका रूपमा सूचीकृत गरेको छ। किसानले भने उखु बेचेर नगद त पाएका छैनन्।’

किसानको पीडामा सरकारले मलम लगाउन नसकेको उखु उत्पादक संघ रामनगर महोत्तरी अध्यक्ष नरेश सिंह बताउँछन्। ‘हामीले राज्य भएको अनुभूति नै गर्न पाएका छैनौं,’ सिंह भन्छन्, ‘गुलियो उखु भित्रको तितो कथा कसले बुझिदिने ?’ उद्योगले आफूखुसी किन्न थाल्दासमेत मूल्यको टुङ्गो नलाग्दा समस्या भएको उनले दुखेसो गरे।  उखुको मूल्य कति र कहिले पाउने जानकारी नभए पनि बाध्य भएर उखु काट्न थालेको मिथिला नगरपालिकाका राजकुमार महतोले बताए। ‘बिउ, मल, मजदुर, सिँचाइदेखि काटेर उद्योगसम्म पु¥याउन नगदै ज्याला दिनुपर्छ,’ महतोले भने, ‘तर, उद्योगबाट कति र कहिले पाउने टुंगो छैन।’  उखु उब्जाउन वर्षभरि ऋणको भारी बोकेका किसानले उद्योगबाट एकमुष्ट भुक्तानी लिएर चुक्ता गर्ने सपना देखेका हुन्छन्। तर, आफ्नो पसिनाको पैसा समयमा माग्दा पनि सरकार र उद्योगीले आफूहरूलाई बेवास्ता गरेको गौशलाकै अर्का किसान हरिश्चन्द्र महतोले बताए।

केही अघिसम्म उखु बेच्दा किसानले एकमुष्ट नगद पाउँथे। त्यसपछि उनीहरू व्यावसायिक खेतीमा आकर्षित भए। पछिल्लो समय मूल्य निर्धारण र भुक्तानी समस्याले नगदेबाली उखु उधारो र ऋणको भारि बोकाउने खेतीमा परिणत भएको महतोकोले गुनासो गरे।

गत वर्ष कृषि मन्त्रालयले न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ  तोकेको थियो। मूल्य मंसिरभित्र तोकिएर चिनी उद्योगले उखु क्रसिङ गर्छन्। तर, चालू आवमा यहाँका चिनी उद्योग सञ्चालमा आउन सकेका छैन्। अन्नपूर्ण पोष्ट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट