माओवादी महाधिवेशनमा ४५० सुरक्षाकर्मी परिचालन-Sutra News

माओवादी महाधिवेशनमा ४५० सुरक्षाकर्मी परिचालन

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेपछि सुरक्षा व्यवस्था पनि परिवर्तन गरिएको छ । सुरक्षा रणनीत परिवर्तन गरिएपछि प्रहरी उपरीक्षकको नेतृत्वमा झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।



यसअघि तयार गरिएको सुरक्षा योजनामा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएको थियो ।

पछिल्लो निर्णय अनुसार केही सुरक्षाकर्मी थप गरी मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बिहानैदेखि महाधिवेशनस्थल र उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको छ। ‘थप मद्दतसहित रिजर्व फोर्ससमेत तयारी अवस्थामा छ,’ परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले भने, ‘महाधिवेशनको रूपमा गर्ने भनिसकेपछि हिजोको योजनाभन्दा थप सुरक्षा मजबुत बनाएका छौं।’

भीडभाड कम हुनेगरी ट्राफिक व्यवस्थापनसमेत मिलाइएको छ । अन्य सुरक्षा निकाय तथा आयोजकसँग समन्वय गरेर चुस्त सुरक्षा व्यवस्था मिलाइएको एसएसपी गिरीले जानकारी दिए ।

माओवादीले राष्ट्रिय सम्मेलनमा अतिथि नबोलाउने र आफ्नै पार्टीका नेता मात्रै सहभागी हुने बताएपनि पछि सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हुँदा अतितिलाई समेत बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित राष्ट्रिय पार्टीका मुख्य नेताहरु आउने भएकाले सुरक्षाको मोडालिटी परिवर्तन गरिएको महाधिवेशनको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले बताए ।

उद्घाटनमा अन्य कार्यकर्तासमेत आउने भएकाले पनि केही भिडभाड बढ्ने भएकाले सोहीअनुसारको सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ।

माओवादीको राष्ट्रिय सम्मेलनको उद्घाटन १ बजे हुने भनिएको थियो । तर, महाधिवेशनका रूपमा हुने भएपछि कार्यक्रम समय परिवर्तन गरी ३ बजे पुर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट