‘माओवादी केन्द्र’को नाम फेर्ने प्रचण्डको प्रस्ताव !-Sutra News

‘माओवादी केन्द्र’को नाम फेर्ने प्रचण्डको प्रस्ताव !

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो पार्टीको नाम फेर्ने तयारीमा लागेका छन् । राजधानीमा जारी आठौं महाधिवेशनबाट पार्टीको नामबाट ‘माओवाद’ हटाउने उनको तयारी छ ।



प्रचण्डले नयाँ र सबैले मन पराउने नामका बारेमा आफूनिकट नेताहरूसँग छलफल थालिसकेका छन् । ‘नाम फेर्ने अध्यक्षको प्रस्तावमाथि पनि छलफल हुँदैछ,’ एक नेताले भने, ‘नयाँ नाम महाधिवेशनले अनुमोदन गर्छ । नाममा माओवादी भन्दा समाजवादी शब्द प्रयोग गर्ने विकल्पमा हामी कुराकानी गरिरहेका छौं ।’

आज १ सय २९ औं माओ दिवससमेत हो । माओ दिवसकै दिन पारेर आठौँ महाधिवेशनको उद्घाटन गरिएको थियो । तर उद्घाटन सत्रमा प्रचण्डले माओ र माओवादका विषयमा उच्चारण गरेनन् ।

पार्टीको नामबाट माओवाद हटाउन निकै पहिलेदेखि छलफल चलिरहेको थियो । सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकता भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा पनि नामबारे छलफल भएको थियो ।

नामबाट माओवादलाई हटाएर ‘समाजवाद’ जोड्न सके अन्य कम्युनिस्ट पार्टीहरूसँग पनि एकता हुन सहज हुने प्रचण्डको बुझाई छ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग तत्काल सहकार्य र चुनावी तालमेल गरेर अघि बढ्ने प्रचण्डको रणनीति ।

उसो त नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले पनि आफ्नो नामबाट माओवाद हटाएको थियो । यतिबेला विप्लवसँग पनि एकताका लागि पहल गर्न प्रचण्डले पार्टीका प्रवक्ता कृष्णबहादुर महरालाई खटाएका छन् ।

प्रचण्डले महाधिवेशन बन्द सत्रमा पेश हुने आफ्नो राजनीतिक दस्तावेजमा नाम फेर्ने प्रस्ताव राखेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट