एमाले जिल्ला अधिवेशन : गठबन्धनविरुद्ध आक्रामक नारा-Sutra News

एमाले जिल्ला अधिवेशन : गठबन्धनविरुद्ध आक्रामक नारा

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

जिल्ला अधिवेशनका लागि नेकपा एमाले खोटाङले गठबन्धन विरुद्ध नारा तय गरेको छ । आगामी २३ पुसमा हुने सातौं जिल्ला अधिवेशनका लागि एमालेले गठबन्धनविरुद्ध आक्रामक नारा तय गरेको हो । जिल्ला अधिवेशनको सन्दर्भमा आइतबार दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष रामप्रसाद दंगालले ‘सत्तालिप्साले जन्माएको गठबन्धन विरुद्ध एक होऔं, विकास, संवृद्धि र अग्रगतिका लागि सबै एमाले एक बनौं’ भन्ने नारा तय गरिएको जानकारी दिए ।



दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा आयोजना हुने जिल्ला अधिवेशनका लागि १५ वटा समिति तथा उपसमिति गठन गरिएको एमालेले जानकारी दिएको छ । जिल्ला अधिवेशनका लागि देवविक्रम राईको संयोजकत्वमा मूल व्यवस्थापन समिति, रामप्रसाद दंगालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन उपसमिति, कुमारप्रसाद आचार्यको संयोजकत्वमा साङ्गठनिक प्रतिवेदन लेखन उपसमिति, दिपनारायण रिजालको संयोजकत्वमा आर्थिक संकलन उपसमिति, उपिनकुमार राईको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन उपसमिति गठन गरिएको छ ।

यस्तै, सुरेन्द्रकुमार राईको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, दिलचक्र राईको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, वीणादेवी राईको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति, दिलकुमारी राईको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, चर्चबहादुर विश्वकर्माको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन उपसमिति गठन गरिएको एमालेले जनाएको छ ।

यस्तै, सनमान खड्काको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन उपसमिति, सम्मरबहादुर भुजेलको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति, दिनेश राईको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, जेनी राईको संयोजकत्वमा माइन्युट लेखन उपसमिति र कमल ढकालको संयोजकत्वमा बहस नोट उपसमिति गठन गरिएको अध्यक्ष दंगालले जानकारी दिए ।

जिल्ला अधिवेशनमा वडा, गाउँपालिका, नगरपालिका कमिटी, सल्लाहकार परिषद्, कम्युनिस्ट मञ्च, खोटाङ–काठमाडौं सम्पर्क मञ्च, जनसंगठन, अल्पसंख्यक, सीमान्तकृत, फरक क्षमता र लैंगिक अल्पसंख्यकबाट ९९९ प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट