हामी बिग्रैकै हो, अब सुध्रिन चाहन्छौं-Sutra News

हामी बिग्रैकै हो, अब सुध्रिन चाहन्छौं

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। सुरुमा प्रथम राष्ट्रिय सम्मेलन गर्ने जनाएको उक्त दलले शनिबार बेलुका एकाएक राष्ट्रिय सम्मेलनलाई राष्ट्रिय महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।



आइतबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेसँगै राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएको हो। पाँच दिनसम्म राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा सञ्चालन हुने महाधिवेशनमा सोमबार बन्दसत्र सुरु हुनेछ।

१० वर्षे सशस्त्र द्वन्द्वपश्चात् शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै २०६४ मा भएको संविधानसभाको निर्वाचनबाट सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको माओवादी पछिल्लो समय आकारको हिसाबले खुम्चिँदै गएको छ।

मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउनेदेखि संघीयता,समानुपातिक समावेशिता, धर्मनिरपेक्षताजस्ता परिवर्तनको वाहक बनेको माओवादी परिवर्तनका अजेन्डा स्थापित गर्न सफल भए पनि राजनीतिक शक्तिका हिसाबले भने कमजोर हुँदै गएको छ।

हाल जारी आठौं महाधिवेशनमा माओवादी केन्द्र कमजोर हुनुका तिनै कारण खोतलिने भएको छ। आइतबार काठमाडौंमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनमार्फत व्यक्तिगत रूपमा आफू र पार्टी कमजोर हुनुको कारणबारे आत्मसमीक्षा गर्ने बताए। ‘शान्तिप्रक्रियामा आएपछि हामी कहाँ चुक्यौं? महाधिवेशनमार्फत त्यसको आत्मसमीक्षा गर्छौं,’ दाहालले भने।

दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा पनि सबैभन्दा बढी आफ्नै आत्मआलोचना गरेको बताए। ‘माओवादी बिग्रनुको कारण हामी आफैं हौं त्यसैले प्रतिवेदनमा पनि त्यसको चिरफार गरेको छु’, दाहालले भने। महाधिवेशनले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन चाहनेहरूलाई उत्प्रेरणा प्रदान गर्ने दाहालको विश्वास छ।

कमजोरीको आत्मसमीक्षा गर्छौंः दाहाल

दाहालको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर ढंगले अध्ययन र समीक्षा गरिएको छ। त्यस्तै नेपालको ऐतिहासिक पृष्ठभूमिसहित नेपाल कहाँ छ, अगाडि के चुनौति छन्, त्यसको सामना कसरी गर्ने भन्ने कुरालाई सविस्तार व्याख्या विश्लेषण गर्दै एउटा निकर्ष दिन खोजिएको छ।

विज्ञान प्रविधिको क्षेत्रमा भएको विकासले विश्व अर्थतन्त्रमा के प्रभाव पारेको छ, विश्व राजनीतिमा कस्तो प्रभाव पारेको छ र मानिसको आपसी सम्बन्धमा कस्तो प्रभाव छ भन्ने कुराको समीक्षा गरिएको दाहालले बताए।

विज्ञान प्रविधिले समाजवादलाई अस्वीकार गरेको छ कि समाजवादलाई स्वीकार गरेको छ, विज्ञान प्रविधि र भूमण्डलीकरण पुँजीवादको वर्चस्व भएकाहरूको सम्बन्धलाई आकलन गर्दै धनी र गरिबबीचको खाडल झन् बढेको निष्कर्ष प्रतिवेदनमा निकालिएको छ। यसले समाजवाद झन् आवश्यक भएको निष्कर्ष दाहालको छ।

पार्टीको अबको कार्यदिशाका रूपमा समाजवाद उन्मुख समृद्धि, सामाजिक न्याय र विकासको नयाँ युगतिर लैजाने नयाँ कार्यनीति र रणनीति पनि अवलम्बन गरिएको छ। माओवादीले महाधिवेशनमार्फत हाल विश्वभर भइरहेको पर्यावरणको विनाश र जलवायु परिवर्तन र त्यसले निम्त्याएको संकटमा पुँजीवादी उत्पादनको भूमिकाका बारेमा पनि छलफल हुनेछ।

उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा दाहालले तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचमा एकीकरण गरेर गल्ती नगरेको बताएका छन्। ‘हामीले पार्टी एकीकरण गरेर गल्ती गरेका थिएनौं। त्यसको समीक्षा हुन आवश्यक छ,’ दाहालले भने। उनले मुलुकमा स्थायित्व र समाजवादतर्फ जाने तयारीकै लागि पार्टी एकीकरण गरे पनि त्यो दिगो हुन नसकेको बताएका थिए।

अव्यवस्थित उद्घाटन सत्र

नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोह अव्यवस्थित देखियो। दिउँसो १ बजे उद्घाटन हुने भनिए पनि ३ बजेमात्रै कार्यक्रम सुरु भयो।

उद्घाटन समारोह आयोजना गरिएको प्रज्ञा प्रतिष्ठानको हल खचाखच भएकाले सबै प्रतिनिधि, दर्शक भित्र जान सकेनन्। हल साँघुरो भएकाले आधाभन्दा धेरै प्रतिनिधि, दर्शक बाहिरै बस्न बाध्य भए। उद्घाटन समारोहको तयारी पनि त्यति व्यवस्थित देखिएन। महाधिेवेशनको सबै काम हतारहतारमा गरिएको देखियो।

तोकिएको समयभन्दा कार्यक्रम दुई घण्टा ढिलो सुरु हुँदा पनि सबै महाधिवेशन प्रतिनिधिले कार्ड पाउन नसकेको देखियो। महाधिवेशन प्रतिनिधिको कार्ड पाउन नसकेपछि राष्ट्रिय सम्मेलनको कार्डका आधारमा हलभित्र जाने अनुमति दिइएको थियो।

हलबाहिर भएका प्रतिनिधि,दर्शकलाई भित्रको कार्यक्रम हेर्न र भाषण सुन्न डिजिटल डिस्प्लेको व्यवस्था गरिएको थियो। तर डिस्प्लेमा पनि बेलाबेलामा प्राविधिक समस्या देखियो। बेलाबेलामा नेताहरूको भाषण सुनिएन। बीचबीचमा भाषण नसुनिएपछि कार्यकर्ताले हुटिङ गरे।

उद्घाटन कार्यक्रम साँझ अबेरसम्म चलेको थियो। कार्यकर्ता भने नेताको भाषण सुन्न पुसको चिसोमा पनि प्रज्ञा प्रतिष्ठानको हलबाहिर धैर्यपूर्वक उभिएका थिए। उनीहरूलाई बस्ने व्यवस्थासमेत गरिएको थिएन। कार्यक्रममा पञ्चेबाजा र विभिन्न झाँकी पनि देखाइएको थियो। तर सबै प्रतिनिधि, दर्शकले झाँकीलगायतका कार्यक्रम प्रत्यक्ष अवलोकन गर्न पाएनन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्न विभिन्न पार्टीका नेतालाई बोलाइएको थियो। वक्ता धेरै भएको र बीचबीचमा गीत, नृत्य देखाइएकाले कार्यक्रम केही लामो र पट्यारिलो भयो। उद्घाटन स्थलवरपर जथाभावी पार्किङ गरिएको थियो। जसका कारण ट्राफिक प्रहरीलाई सवारी आवागमन सहज बनाउन हम्मेहम्मे भएको थियो। नागरिक दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट