हुम्लामा बिजोग- हिमपात भएपछि चिसोले कोठा बाहिर परीक्षा दिँदै विद्यार्थी-Sutra News

हुम्लामा बिजोग- हिमपात भएपछि चिसोले कोठा बाहिर परीक्षा दिँदै विद्यार्थी

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

हिमाली जिल्ला हुम्लामा हिमपातसँगै अत्यधिक चिसो बढेपछि अधिकांश विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन् । सात गाउँपालिका रहेको हुम्ला जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।



जिल्लाका तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएपछि घाम ताप्दै खुला चौरमा विद्यार्थीको परीक्षा लिइएको मानसरोवर माद्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।

कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएकाले घाम लाग्ने खुला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकाको सूर्योदय माद्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र दीपक फडेराले जानकारी दिए ।

फडेराले हिमपात भएपछि विद्यालयको कक्षा कोठाभित्र चिसोले हात कठ्याङ्ग्रिएर कलम चलाउनसमेत कठिन हुने गरेको बताएका छन् ।

हिमाली जिल्ला हुम्लाका विद्यार्थीले यस वर्ष कोरोनाले पुरै समय अध्ययन गर्न नपाएको नागरिक समाज अगुवा राजबहादुर रोकायाले बताए । त्यसमाथि चिसोले परीक्षा दिन सकस भइरहेको र चौरमा आएर परीक्षा दिनुपर्ने बाध्यता रहेको उनले बताए ।

सिमकोट गाउँपालिका मानसरोवर नमुना माद्यामिक विद्यालयकी छात्रा अनिता रोकायाले घाममा आएर परीक्षा दिन थालेपछि लेख्न सजिलो भइरहेको बताइन् । विद्यार्थीहरूले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको मानसरोवर विद्यालय स्रोतले जानकारी दिएको छ ।

अर्धवार्षिक परीक्षामा सहभागी शिक्षक रेसमराज रोकायाले चिसोले प्रभावित भएपछि विद्यालय व्यवस्थापन समिति घाम लागेको चौरमा परीक्षा सञ्चालन गर्न राजी भएकाले आफूहरूले घाममा परीक्षा सञ्चालन गरिरहेको बताएका छन् । दुई वर्ष पहिले यो समयमा हुम्लामा अर्ध वार्षिक परीक्षा हुने भए पनि यो पटक कोरोनाले ढिलो भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट