यी हुन् प्रचण्डले माओवादीमा देखेका ४ मुख्य समस्या-Sutra News

यी हुन् प्रचण्डले माओवादीमा देखेका ४ मुख्य समस्या

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

पार्टी शान्तिपूर्ण राजनीतिमा आएको १५ वर्षपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी र नेताहरूबारे चार कमजोरी औँल्याएका छन्।



काठमाण्डूको प्रज्ञा भवनमा जारी माओवादीको आठौँ महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा माओवादी पार्टी र नेताहरूमा आएका विचलनको फेहरिस्त नै रहेको महाधिवेशन प्रतिनिधिहरूले बताएका छन्।

सोमबार प्रचण्डले बन्दसत्रमा पढेर सुनाएको प्रतिवेदनमा मङ्गलवार विभिन्न २५ वटा समूहमा छलफल गरिने तय भएको छ।

समूहगत छलफलको निष्कर्ष बुधवार बन्दसत्रमा प्रस्तुत गरिएपछि आवश्यक परिमार्जन सहित पारित गर्ने तयारी छ।

प्रचण्डले प्रतिवेदनमा नेता र कार्यकर्ताहरूको जीवनशैलीबारे आत्मालोचना गर्दै त्यसलाई सुधार्नुपर्ने प्रस्ताव गरेका छन्।

“प्रतिवेदनमा एक नम्बरमै आत्मसमीक्षा छ। नेतृत्व देखि कार्यकर्तासम्मको कार्यशैली सांस्कृतिक रूपान्तरणबारे चर्चा गरिएको छ,” माओवादी नेतृ कमला रोकाले भनिन्।

“नेतृत्वको हिसाबले यो पार्टीलाई कसरी अघि बढाउनुपर्ने भन्नेमा मैले नै (प्रचण्ड) जिम्मा लिनुपर्छ भन्ने मर्म प्रतिवेदनमा छ।”

चार कमजोरी

माओवादी नेता नारायणकाजी श्रेष्ठले आफ्नै पार्टी जीवनमा केही गम्भीर समस्याहरू रहेको प्रचण्डको प्रतिवेदनले औँल्याएको बताए।

उनका अनुसार पार्टीमा व्यक्तिवाद र गुटवाद, विधि पद्धतिमा कमजोरी, आर्थिक भ्रष्टीकरण र सांस्कृतिक विचलन जस्ता चार समस्या देखिएका छन्।

प्रचण्डले माओवादी शान्ति र क्रान्तिको दोधारे अवस्थामा रहेको भन्दै अब पार्टीको राजनीतिक विचारधारामा पनि सुधार गर्नुपर्ने औँल्याएका छन्।

“ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्न नसक्दा हामीले यत्रो उपलब्धि र शक्तिलाई जोगाउन सकेनौँ र पार्टी कमजोर भयो,” प्रतिवेदन उद्धृत गर्दै माओवादी नेता जगत सिम्खडाले भने।

उनका अनुसार शान्ति प्रक्रियामा आएपछि माओवादी नेता र कार्यकर्ताहरू जनपक्षीय हुन नसकेको, जनताबाट टाढिएको र पार्टीले उठाएका मुद्दालाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको प्रतिवेदनमा औँल्याइएको छ।

समाजवादको बाटोमा माओवादी

महाधिवेशन प्रतिनिधिहरूका अनुसार प्रचण्डले पार्टीको वैचारिक नीतिलाई समाजवाद उन्मुख बनाउँदै लैजाने प्रस्ताव आफ्नो राजनीतिक प्रतिवेदनमार्फत् गरेका छन्।

माओवादी नेता श्रेष्ठले “२१औँ शताब्दीमा नेपाली समाजवादको मोडेल के हुन्छ” भन्नेबारेमा प्रचण्डले आफ्ना केही विचारहरू दस्ताबेजमार्फत् प्रस्ताव गरेका छन्।

“अहिले तत्काल समाजवाद उन्मुख सुधारको नेतृत्व र अन्ततः समाजवाद निर्माणको नेतृत्व गर्न सक्छौँ। त्यसको निम्ति विचारको विकास र सांस्कृतिक रूपान्तरणको आवश्यकता छ भन्ने अहिलेको चुरो कुरो हो,” श्रेष्ठले भने।

 

माओवादी नेतृ रोकाले पनि नयाँ विचारबारे बहस र छलफल आवश्यक रहेको प्रतिवेदनमा आएको बताइन्।

“माओवादलाई अघि बढाउने तर त्यसलाई नेपाली क्रान्तिमा लागु गर्ने सन्दर्भमा नयाँ केही विचार जन्मिएको छ। जस्तो २१औँ शताब्दीको समाजवाद भयो त्यसलाई पनि संश्लेषण गर्नुपर्छ भन्ने भएको छ,” उनले भनिन्।

प्रचण्डले युद्धकालमा अघि सारिएको प्रचण्डपथ पनि छोडिएको र पार्टी एकताका नाममा माओवाद पनि छोडिएको भन्दै पार्टीलाई नयाँ परिस्थिति अनुसारको विचारधारामा अघि बढाउनुपर्ने प्रस्ताव गरेको सहभागीहरूले बताए।

गठबन्धनमा प्राथमिकत

प्रचण्डले पार्टीलाई बलियो बनाउने प्राथमिकता भए पनि आगामी निर्वाचनसम्म राष्ट्रवादी शक्तिहरूबीच गठबन्धन बनाएर जानुपर्ने सङ्केत गरेको नेता सिम्खडाले बताए।

“राष्ट्रिय मुद्दाहरूको सवालमा जनताको इच्छा आकाङ्क्षाको हितमा गठबन्धन जानुपर्छ भन्ने कुरा छ। यो पाँच दलीय मात्रै भन्ने पनि छैन। त्यसमा राष्ट्रियता र जनजीविकाको सवालमा सबै राष्ट्रिय पार्टीहरूबीच सहमति र सहकार्यकै आधारमा अघि बढ्ने भन्ने छ,” प्रतिवेदनबारे उनले भने।

प्रचण्डले विगतमा विविध कारणले माओवादीबाट अलग भएका नेता र समूहसँगको एकतामा प्राथमिकता दिनुपर्ने प्रस्ताव आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्।

विगतका कमजोरीको समीक्षा गर्दै बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र मोहन वैद्य जस्ता माओवादीबाट अलग भएर गएका नेता र समूहलाई पार्टीमा फर्काउने वातावरण बनाउनुपर्ने सङ्केत गरेको नेता सिम्खडाले जानकारी दिए।

एमसीसी परिमार्जन

प्रचण्डले आफ्नो प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसीसीबारे पनि एउटा बुँदा उल्लेख गरेका छन्।

“एमसीसीको विषयमा परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएर मात्रै अघि बढाउने, यत्तिकै अघि नबढाउने भन्ने एउटा बुँदा छ,” रोकाले भनिन्।

प्रचण्डले आइतबार उद्घाटन समारोहमा पनि एमसीसीबारे दलहरूबीच समझदारी बन्नुपर्ने बताएका थिए।

विगतमा पनि आफ्नो दल सरकारमा रहेका बेला संविधान संशोधन प्रस्ताव टेबल गरिएको स्मरण गर्दै प्रचण्डले कतिपय विषयमा राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन गर्न सकिने उल्लेख गरेको सहभागी नेताहरूले बताएका छन् । बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट