गोकुलेश्वर विमानस्थलका लागि थप २ करोड ६५ लाख बजेट विनियोजन-Sutra News

गोकुलेश्वर विमानस्थलका लागि थप २ करोड ६५ लाख बजेट विनियोजन

मंगलबार, १३ पौस २०७८

मंगलबार, १३ पौस २०७८

नागरिक उड्डयन प्राधिकरणले गोकुलेश्वर विमानस्थल निर्माण तथा स्तरोन्नतिका लागि थप २ करोड ६५ लाख बजेट विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले गोकुलेश्वर विमानस्थल निर्माण तथा स्तरोन्नतिका लागि रु २ करोड ६५ लाख ४८ हजार बजेट विनियोजन गरेको हो ।



प्राधिकरणले सुदूरपश्चिमको धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि १ अर्ब , डोटीको दिपायल विमानस्थललाई स्तरोन्नति गर्न, २५० मिटर धावन मार्ग थप गर्ने, टर्मिनल भवन बनाउन र जग्गा अधिग्रहण गर्नको लागि १८ करोड ६१ लाख, अछामको साँफेबगर विमानस्थलको स्तरोन्नतिका गर्न ३ करोड, अछामकै कमल बजार विमानस्थल सुद्दढीकरण गर्न ३ करोड, कञ्चनपुरको महेन्द्रनगर विमानस्थल सुद्दढीकरण गर्न २ करोड ५१ लाख र दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माण तथा स्तरोन्नतिका गर्नका लागि २ करोड ६५ लाख बजेट विनियोजन गरेको हो ।

यसैगरी बैतडीको पाटन विमानस्थल बहुवर्षीय आयोजना मार्फत निर्माण गर्न १ करोड ५० लाख, बझाङ विमानस्थलको लागि १२ लाख ९९ हजार, बाजुरा विमानस्थलको लागि १८ लाख ७६ हजार र डडेल्धुरा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ५० लाख बजेट विनियोजन गरेको छ ।

बजेट विनियोजनमा सुदूरपश्चिम सधैँ पछि परेको गुनासो आउने गरेकोले यस पटक सुदूरपश्चिम क्षेत्रका विमानस्थलको विकास तथा विस्तारको लागि बजेटको व्यवस्था गरेको मन्त्री प्रेम आलेले बताए ।

गत कात्तिकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को दार्चुला जिल्ला कमिटि घोषणा कार्यक्रममा पार्टी अध्यक्ष माधव कुमार नेपालसँगै गोकुलेश्वर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गोकुलेश्वर विमानस्थल निर्माणको लागि हालको बजेट कम भएकाले आफ्नै कार्यकाल भित्र सम्पूर्ण बजेट विनियोजन गर्ने बताएका थिए । उनले विमानस्थलको टर्मिनल भवन, टेक्सी पार्किङ लगायतका सबै भौतिक पूर्वाधार निर्माणको लागि पनि बजेट विनियोजन गर्ने बताएका थिए ।

निर्माण कार्य तीव्र गतिमा

हाल गोकुलेश्वर विमानस्थल निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । के.एस. कन्सट्रक्सन प्रालि धनगढीले विमानस्थल निर्माणको कार्य गरिरहेको छ । विमानस्थलमा अहिले माटो भर्ने (फिलिङ)को काम भइरहेको छ । एक वर्षमा फिलिङ र ग्याबीनको काम सम्पन्न गर्ने गरी तीन करोड ५८ लाख बजेटमा सम्झौता भएको थियो ।

विमानस्थल सञ्चालनका लागि अर्थ मन्त्रालयबाट गत आर्थिक वर्षमा बजेटको सुनिश्चितता भएर ठेक्का प्रकृया अगाडि बढेको थियो । अर्थ मन्त्रालयको २०७७ साल माघ २१ गतेको निर्णय अनुसार विमानस्थलको निमार्ण कार्य अगाडी बढाउने उद्धेश्यले बजेटको सुनिश्चितता भएको सहमति पत्र राष्ट्रिय योजना आयोगलाई पठाइएको थियो । गत वर्ष डिपीआर तयार गरी स्वीकृत भइ सकेको उक्त विमानस्थल सञ्चालनका लागि बहुवर्षे ठेक्कामार्फत काम शुरु भएको हो ।

विमानस्थलमा डोजर प्रयोग गरेर घाँस उखेल्ने, कटिङ गर्ने काम र फिलिङका लागि टिप्परले माटो ढुवानी गर्ने काम भइरहेको छ ।

सशस्त्रद्वन्द्व सुरु भएसँगै विसं २०५०साल देखि जहाजले उडान भर्न छोडेपछि यो विमानस्थल गाई-भैंसीका लागि चरन क्षेत्र, नेताहरुका लागि भाषणस्थल र स्थानीयहरुका लागि खेलमैदान बनेको थियो ।

द्वन्द्वकालका बेला तत्कालीन माओवादीले विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइड कार्यालयलगायतमा आगजानी गरेपछि त्यसयता पूनःनिर्माण हुनसकेको थिएन । द्वन्द्वकाल देखि विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धन हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको थियो ।

सिंगो दार्चुला जिल्ला, बैतडी र बझाङ जिल्लाको आधाभन्दा बढी भू-भागले सजिलै सेवा पाउने यो विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका थुप्रै विकासका योजनामा असर पर्नुका साथै उपचारका लागि अन्यत्र पठाउनुपर्ने जटिल अवस्थाका बिरामीले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको थियो ।

तत्कालीन बोहरीगाउँ गाविसको देवथलीमा विमानस्थल निर्माणका लागि प्रस्ताव गरिएकोमा स्थानीयवासीले स्वीकृति नदिएकाले चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा विसं २०४४/४५ सालतिर विमानस्थल निर्माण शुरु गरिएको थियो ।

२०४६ सालदेखि संचालनमा आएको विमानस्थल हप्तामा एक/दुई उडान निरन्तर रुपमा चल्थ्यो, गोकुलेश्वर विमानस्थलका कार्यालय सहयोगी रामदत्त विष्टले भने, ‘नेपालगञ्ज-गोकुलेश्वर र गोकुलेश्वर-महेन्द्रनगरका लागि उडान हुँदै आएको थियो ।’

‘तत्कालीन शाखा अधिकृत सुधीरकुमार ठाकुर सरुवा भई गएपछि बन्द रहेको विमानस्थल २०६० सालदेखि कार्यालय सहयोगीको भरमा छोडिएको छ भने आजभोलि ती क्षतिग्रस्त टहारहरुमा थोरै पूर्ननिर्माण गरि ईलाका प्रहरी चौकी गोकुलेश्वरको अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।

विमानस्थल संचालनमा आए पर्यटकीय सम्भावना मात्रै बढ्ने छैन, दार्चुला आउनै नमान्ने कर्मचारीहरू पनि सहजै दार्चुला पुग्ने र सेवा दिने धेरैको बुझाइ छ । कष्टप्रद यात्रा देखेर सुविधा सम्पन्न ठाउँमा बसेका कर्मचारीहरू, विकास साझेदार र विज्ञहरूसमेत दार्चुला नपुग्ने गरेका छन् ।

विमानस्थल निर्माणको काम थालिएसँगै गोकुलेश्वरका स्थानीय हर्षित भएका छन् । शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा रहेको विमानस्थल सञ्चालनमा आए सिंगो दार्चुला, बैतडी र बझाङ जिल्लाको आधाभन्दा बढी भू-भागका नागरिकहरु समेत सेवा पाउनेछन् । अन्नपूर्ण पोष्ट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट